गैँडाकोटका साहित्यिक हस्ती रामहरि शर्मा (सराह) को निधन

२०८२ श्रावण ३ शनिबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका अग्रज स्रष्टा तथा साहित्यिक व्यक्तित्व रामहरि शर्मा (सराह) को निधन भएको छ। यहि असार २६ गते मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका शर्माको काठमाण्डौ मेडिसिटि अस्पतालको आइसियु कक्षमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमसी)मा समेत केहि दिन उपचार भएको थियो । 


साहित्यप्रति गहिरो लगाव राख्ने शर्माले विशेषतः कविता र काव्य विधामा कलम चलाउँदै आउनुभएको थियो। उहाँ गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान अन्तर्गत साहित्य विभागका प्रमुख समेत हुनुहुन्थ्यो। सराह उपनामले चिनिने उहाँको रचना जीवन, समाज र समर्पणप्रति समर्पित रहँदै आएको थियो।


उहाँ विजय सूचना सञ्चार सहकारी संस्थाका पूर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो। उहाँको योगदानले गैँडाकोट क्षेत्रको साहित्यिक विकासमा उल्लेखनीय प्रभाव पार्दै आएको थियो। शर्माको निधनप्रति साहित्यिक क्षेत्र, शुभचिन्तक तथा गैँडाकोटबासीले गहिरो दुःख व्यक्त गरेका छन्।