गण्डकी साकोसको वित्तीय सचेतना, जोखिमपूर्ण अवस्थामा जीवनरक्षा तथा करेसावारी हरियाली कार्यक्रम सम्पन्न

२०८२ फाल्गुण २९ शुक्रबार १९:०६:०० मा प्रकाशित

गैंडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सचेतना, जोखिमपूर्ण अवस्थामा जीवनरक्षा तथा करेसावारी हरियाली कार्यक्रम सम्पन्न भएको छ । गण्डकी साकोस द्वारा आफ्ना सदस्य तथा स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रम माघ २६ देखी शुरू भएर फाल्गुन २९ मा सकिएको हो ।

गैंडाकोट नगरपालिका भित्र कार्यक्षेत्र रहेको संस्थाको मुख्य कार्यालय लगायत छ वटा सेवा केन्द्र परिसरमा कार्यक्रम गरिएको थियो। सस्थाले विभिन्न चरणमा सञ्चालन गरेको कार्यक्रममा ११०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष गोविन्द सुबेदीले जानकारी दिनुभयो । 
अभिमुखीकरण कार्यक्रम मार्फत सहभागीहरूलाई व्यक्तिगत तथा पारिवारिक वित्तीय व्यवस्थापन कसरी सुदृढ बनाउने, बचत तथा लगानीमा कसरी सचेत रहने, साथै आकस्मिक तथा जोखिमपूर्ण अवस्थामा आफू र अरूको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा आवश्यक ज्ञान, सीप तथा व्यवहारिक अभ्यास प्रदान गरिएको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।


कार्यक्रममा आकस्मिक दुर्घटना, आगलागी, प्राकृतिक विपद् तथा अन्य जोखिमपूर्ण अवस्थाहरूमा सुरक्षित रहने उपायहरू बारे समेत जानकारी गराइएको थियो।कार्यक्रमा सहभागीहरूले यस किसिमको प्रशिक्षणले दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान प्राप्त भएको बताएका थिए।
तेस्तै सस्थाले करेसावारी हरियाली अभियान अन्तर्गत सहभागी सदस्यहरूलाई तरकारीका विभिन्न बीउहरू वितरण गर्दै घरायसी उत्पादन बढाउने, वातावरण संरक्षणमा टेवा पु¥याउने तथा आत्मनिर्भर जीवनशैलीलाई प्रोत्साहन गर्ने सन्देश दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले बताउनु भयो। 


संस्थाले आगामी दिनहरूमा पनि सदस्य तथा समुदायलाई लक्षित गर्दै सचेतना, क्षमता विकास र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रमको संयोजन गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको हो।