गैँडाकोटमा प्राथमिक उद्वारकर्ता तालिम सञ्चालन

२०८२ श्रावण १७ शनिबार ०७:२३:०० मा प्रकाशित

गैँडाकाेट । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत राष्ट्रिय सडक सुरक्षा परिषद्ले शुक्रबार प्राथमिक उद्वारकर्ता तालिम गैँडाकोट नगरपालिकामा सञ्चालन गरेको छ । सो कार्यक्रममा गैँडाकोट नगरपालिकाको सहयोग तथा सहकार्य रहेको थियो भने प्राविधिक तथा लजिस्टिक सहयोग यु.एन.डि.पी नेपालको रहेको थियो।


सो तालिमको शुभारम्भमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैँडाकोट क्षेत्रको बिच भागबाट पूर्वपश्चिम राजमार्ग गएकाले सडक दुर्घटना बढि हुने गरेको छ । तसर्थ गैँडाकोट सडक दुर्घटनाले अति संवेदनशील रहेको हुँदा दुर्घटनाबाट बच्ने उपाय अपनाउन आग्रह गर्नुभयो । साथै प्राथमिक उद्धार सम्बन्धि तालिमले दुर्घटनाका कारण हुने मानविय क्षति कम गर्न सहयोग पुर्र्याउने बताउनुभयो ।


नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारीले दुर्घटना भएको अवस्था मानविय नाताले तालिममा सिकेका प्राथमिक उद्धार र उपचारका तरिकाहरुको प्रयोग गरी कमसेकम  जीवन बचाउने कार्य गर्न सकेमा ठूलो धर्म हुने बताउनुभयो। साथै तालिममा सिकेका विषयवस्तु विद्यालयको प्रार्थना समयमा विद्यार्थीहरुलाई जानकारी गराउनुहुन शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।


तालिम  कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखा उपकोषाध्यक्ष चिज कुमार आले, नेपाल रेडक्रस सोसाइटी चितवनका प्रशिक्षक नरबहादुर के.सी र सहायक प्रशिक्षक देवेन्द्र पौडेलले प्राथमिक उपचारका विधि, सिद्धान्त, मुटु तथा फोक्सोको पुनः सञ्चालन प्रक्रिया, ठूलो रक्तस्राव र क्षोभ, हात खुट्टा, मेरुदण्ड भाँचिदा गर्नुपर्ने प्राथमिक उपचार, गला लाग्दा गर्नुपर्ने प्राथमिक उपचारका विषयमा प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण दिनुभएको थियो ।

तालिममा राजमार्ग नजिककका विद्यालयका शिक्षक प्रतिनिधी, नेपाल प्रहरी प्रतिनिधी, ट्राफिक प्रहरी प्रतिनिधी, नगर प्रहरी, नगरपालिकाका सवारी चालकहरुकाे सहभागीता रहेकाे  थियाे ।

कार्यक्रममा सडक डिभिजन कार्यालय चितवन प्रतिनिधी शिला न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिमको समापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक तारापती अर्याल र कुमारवर्ती आधारभूत विद्यालयबाट सहभागी शिक्षक धना सुवेदीले अनुभव मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको राष्ट्रिय सडक सुरक्षा परिषद्का कार्यक्रम संयोजक निरज धौभडेल र यु.एन.डी.पी प्रतिनिधी इन्जिनियर समिक्षा अधिकारीलेले सहजीकरण गर्नुभएको थियो ।