म्याग्दी कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी । म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका-२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको पौडेलले बताउनुभयो ।
फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ । काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेका छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला तोडेर भागेका थिए । रासस