तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

२०८२ असोज २ बिहीबार १३:५८:०० मा प्रकाशित

काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि पुनः खुलेको सेयर बजार बिहीबार दिनभर भारी गिरावटमा रह्यो । नेप्से परिसूचक तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको छ ।

कारोबार खुलेको २ मिनेटमै परिसूचक ४ प्रतिशतले घट्दा पहिलो सर्किट ब्रेक लाग्यो । त्यसपछि २० मिनेट स्थगित भएर खुलेको बजार फेरि ५ प्रतिशतले घटेपछि ११:२३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो पटकको रोकावटपछि ४० मिनेटका लागि कारोबार स्थगित रह्यो । १२:०४ बजे पुनः खुलेको बजार फेरि थप घट्दै ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि सम्पूर्ण कारोबार स्थगित गरियो ।

बजारमा जम्मा करिब ४ मिनेट मात्रै कारोबार हुन पायो । यस अवधिमा ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयो । ६ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा झर्यो ।

सबै समूहमा गिरावट

व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशतले ओरालो लाग्यो । त्यस्तै अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८, जीवन बीमा ६.६६, बैंकिङ ५.५२, विकास बैंक ५.१३, हाइड्रोपावर ५.४०, निर्जीवन बीमा ५.४२, उत्पादन तथा प्रशोधन ५.०२, फाइनान्स ४.५२ र माइक्रोफाइनान्स ४.०८ प्रतिशतले घटे ।

विशेषगरी दुई पुनर्बीमा कम्पनी—नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स—को मूल्यमा १० प्रतिशतको भारी गिरावट आएसँगै समूहगत सूचकमा उच्च प्रभाव परेको देखियो ।

१० प्रतिशतले घटेका १६ कम्पनी

कुल १६ कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, उन्नति सहकार्य लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेसनल हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स तीमध्ये परे ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स, बेस्ट फाइनान्स, ओरियन्टल होटल, आँखुखोला जलविद्युत्, विशाल बजार कम्पनी, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, अपी पावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सान्भी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, बुटवल पावर र हिमाल दोलखा हाइड्रोपावरलगायतका कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी घट्यो ।