गोरखामा जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

२०८२ असोज २८ मंगलबार १३:०६:०० मा प्रकाशित

गोरखा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ । गोरखाका चार जना सहिद परिवारमध्ये तीन जना सहिद परिवारलाई राहत वितरण गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका-३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका-५ का विमलबाबु भट्ट, गण्डकी गाउँपालिका-४ का अर्जुन भट्टको परिवारलाई १५ लाखको दरले राहत रकम उपलब्ध गराइएको छ । आर्थिक सहायतको दस लाख र काजक्रिया तथा यातायात खर्च बापत पाँच लाख रुपियाँ उपलब्ध गराइएको कडरियाको भनाई छ  ।

जेनजी आन्दोलनको क्रममा सिरानचोक गाउँपालिका - २ सरोज गुरुङको परिवारलाई भने राहत रकम हस्तान्त्रण गर्न बाँकी रहेकाले अबको केही दिनमा राहत उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा काठमाडौँ र चितवनमा मृत्युवरण गरेका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले आफ्नै कार्यालय बोलाएर मङ्गलबार राहत रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।