किताब बिना नै सिक्न पाउँदा विद्यार्थी झन् उर्जाशील, अभिभावक पनि खुसी

नवलपरासी पूर्व । विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरु हरेक महिनाको मसान्तमा अरु दिनमा भन्दा बढी खुसी देखिन्छन् । यस दिन उनिहरुले विद्यालय आउँदा पुस्तक ल्याउँदैनन् । किताब बिना नै विभिन्न सीप सिक्ने गर्दछन् । कहिले कपडा सिउने, कहिले खाना पकाउने, कहिले लुगा मिलाउने, कहिले गुडिया बनाउने सीप सिकिरहन्छन् । तिहारको पूर्वसन्ध्यामा असोजको मसान्तका दिन उनिहरुले विद्यालयकै परिसरमा रंगोली बनाइरहेका छन् । संस्कृतिलाई व्यवहारिकतामा जोड्न पनि सीप अनिवार्य हुन्छ । संस्कृतिलाई व्यवहारमा उतार्न विद्यार्थीहरु आफै रंगोली बनाउँदै सिकिरहेका छन् ।
बुक फ्रि डे भन्ने अवधारणा शिक्षा क्षेत्रमा नयाँ तर रोचक अभ्यास हो । यसको मुख्य उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर अनुभवजन्य, सिर्जनात्मक र व्यवहारिक सिकाइमा सहभागी गराउनु हो ।
बुक फ्रि डे भनेको यस्तो विशेष दिन हो, जब विद्यालयमा नियमित पुस्तकका पाठहरू नपढाई, विद्यार्थीहरूलाई पुस्तकबाहेकका क्रियाकलापहरूबाट सिकाउने अवसर दिइन्छ । यस दिन विद्यार्थीहरूले अनुभव, छलफल, खेल, सिर्जनात्मक कार्य, सामुदायिक सहभागिता, परियोजना कार्य, वा जीवन सीपका गतिविधि मार्फत सिक्ने गर्छन् ।
विजय सामुदायिक शिक्षा सदनले प्रत्येक महिना मसान्तमा पुस्तक विनाको सिकाइ वातावरण बनाइरहेको छ । यसले विद्याथी र अभिभावकमा खुसी पनि थपेको छ । विद्यालयले सिकाएका सीपहरुले विद्यार्थीहरुको जीवनमा सहजता थपेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रशान्त रेग्मीको अनुभव छ ।
बुक फ्रि डे कार्यक्रमले सिर्जनात्मक सोच, आत्मविश्वास र सहकार्य सीप विकासमा सहयोग पुगेको विद्यार्थीहरुको बुझाइ छ । सैद्धान्तिक ज्ञान मात्र नभइ विद्यालयले व्यवहारिक ज्ञान प्रदान गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी पञ्चम आचार्य, प्राश्ना सुवेदी र अनिशा गैरे बताउनुहुन्छ ।
सिकाइलाई रमाइलो, अर्थपूर्ण र जीवनसँग जोडेर सिकाउँदा प्रभावकारी हुने गर्दछ । विद्यार्थीको व्यक्तिगत रुचि र प्रतिभा पहिचान गर्न सहयोग गर्नु आजको आवश्यकता हो । आफ्ना बाबुनानीको रिपोर्ट कार्ड मात्र होइन, व्यवहार सुधारले सबैभन्दा धेरै खुसी लाग्ने बताउनुहुन्छ, अभिभावक यशोदा सापकोटा ।
शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई नजिक बनाउन पनि बुक फ्रि डे जस्ता कार्यक्रमले सहज बनाउने गर्दछ । पुस्तक विनाको सिकाइले विद्यार्थीहरुमा आत्मविश्वास बढाउन मद्दत पुग्ने अभिभावक भानु सापकोटा बताउनुहुन्छ । अभिभावक सापकोटाले बुक फ्रि डेको अवधारणालाई मूल्यांकन प्रभावकारी बनाउन सके अझ धेरै राम्रो हुने बताउनुहुन्छ ।
बुक फ्रि डे शिक्षा प्रणालीमा सिक्ने तरिका परिवर्तन गर्ने एक नयाँ प्रयास हो । यसले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन, जीवनका लागि सिक्न प्रेरित गर्छ । जव विद्यार्थीहरुले जीवन बुझ्दछन्, समाज बुझ्दछन् अनि मात्र विद्यालयमा पढेका सैद्धान्तिक ज्ञानले पूर्णता पाउनेछ । अर्थपूर्ण बन्नेछ ।