चितवनमा थपिए तीन हजार नयाँ मतदाता
भरतपुर । चितवनमा तीन हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा एक महिनाको अवधिमा तीन हजार ४७ नयाँ मतदाता थपिएका छन् ।
असोज १० गतेदेखि निर्वाचन कार्यालयले नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न सुरू गरेको हो । पहिलो दिन असोज १० गते १४ जनाले मात्र नाम दर्ता गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको हो ।
विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए । ‘अहिले थपिएका मतदाताले फागुनमा हुने निर्वाचनमा मत खसाल्न पाउँछन्’, प्रमुख कार्कीले भन्रुभयो, ‘मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेको संख्या दिनहुँ बढिरहेको छ ।’ आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनको मतदाता चार लाख ४० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
निर्वाचन कार्यालय भरतपुरमा यही कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । थपिएका नयाँ मतदाता अधिकांश २५ वर्षमुनिका छन् । ‘मतदातामा नाम दर्ता गर्नेहरु झन्डै ८५ प्रतिशत २५ वर्षमुनिका छन्’, प्रमुख कार्कीले भन्रुभयो । केही विदेशबाट फर्केका र यसअघि नाम छुटेका पनि मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन् ।
आफू जहाँ बस्यो त्यहीँको कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन कार्यालय चितवनले जनाएको छ । चितवनवासी तर बाहिरी जिल्लामा अस्थायी बसोवास गर्नेले त्यही जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्, तर मत हाल्न स्थायी ठेगानामा आउनुपर्छ ।
निर्वाचन आयोगको अनलाइनमा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिनेछ । ‘सुरूका दिनमा एक डेढ सयले मतदाता नामावलीमा नाम दर्ता गरिरहेका थिए, पछिल्लो दिनमा संख्या बढिरहेको छ’, निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी नेत्रराज श्रेष्ठले भन्रुभयो, ‘आगजनीपछि फर्निचर र कम्प्युटरको जोहो गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्ने काम पनि तीव्ररुपमा भइरहेको छ ।’
‘सुरूमा त कार्यालय मर्मत गर्नु परेको हुनाले बाहिरै बसेर मतदाता नामावलीमा नाम दर्ता गरेका थियौँ, अहिले त भित्र र बाहिर दुवै ठाउँबाट पनि नाम दर्ताको काम भएको छ’, श्रेष्ठले भन्रुभयो।
सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्, तर १८ वर्ष उमेर पूरा भएपछि मात्र मतदानको अधिकार प्राप्त गर्नेछन् ।
मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनुपर्ने भए पनि मतदाता नामावली सङ्कलनको क्रममा सच्याउन सकिने निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी नेत्रराज श्रेष्ठले बताउनुभयो।
गत भदौ २३ र २४ गतेको आन्दोलन र उत्पन्न परिस्थितिपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिकाअनुसार काम गरिरहेको छ ।
तालिकाअनुसार कार्तिक मसान्तसम्म नामावलीमा नाम दर्ता हुनेछ । मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दलहरु दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।