मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम भवन र विश्राम स्थलको समुद्घाटन

२०८२ कार्तिक १७ सोमबार १८:१२:०० मा प्रकाशित

गैंडाकोट । मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम भवन र विश्राम स्थल तथा प्रतिक्षालयको समुद्घाटन भएको छ ।
श्री धार्मिक सेवासमिति  मौलाकालिका मन्दिरद्वारा सञ्चालित मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम)को पक्की १६ कोठे २ तले भवन तथा मन्दिर परिसरमा रहेको विश्राम स्थल तथा प्रतिक्षालयको समुद्घाटन गरिएको हो। आइतबार मौलाकालिका मन्दिरको सभाहलमा भएको कार्यक्रममा श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज ज्युबाट भवनको शिला अनाबरण गरि समुद्घाटन गरिएको हो  ।


श्री हरिहर सन्यास आश्रम देवघाटका पिठादिश ,सन्त समाज नेपालका अध्यक्ष,परमानन्द गुरुकुलमका अध्यक्ष ,धार्मिक सेवा समिति  मौलाकालिका मन्दिरका संरक्षक, मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले समितिको मेहनत र लगन र गुरुकुल प्रतिको निष्ठाले गर्दा अब गुरुकुल चल्छ, राम्रो हुन्छ, बल्ल धार्मिक सेवा मौलाकालिका अब मौलाकालिका हुने भो भन्ने आत्मविश्वास बढेको बताउनुभयो। उहाँले भन्नुभयो“ साधुसन्तहरुले आश्रम चलाएका छौं, आश्रम मात्र चलाएर दुई, चार हजारलाई दालभात खुवाएर हाम्रो ह्दय सन्तुष्ट हुँदैन, जबसम्म ती संस्थामा गुरुकुलम चलाईँदैन, ऋषि विद्याको रक्षा गरिँदैन तब हामि सफल भइदैन ।


मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालीकराम सापकोटाले १३ वर्ष मन्दिरमा बिताइरहँदा चारवटा कुराको संकल्प गरेको थिएँ त्यो अब पूरा भएको विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो जब म मन्दिरमा गौशाला पाठशाला धर्मशाला र पाठशालाको योजना बनाएको थिएँ अहिले आएर गुरुकुलम पनि चलाउन थालेपछि मेरो सपना पुरा भएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर  १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले वडाको तर्फबाट मौलाकालिका गुरुकुलमलाई गर्नुपर्ने सहयोगमा कुनै पनि कमी नहुने बताउनु भयो । उहाँले  समितिको दृढ संकल्पको कारणले दिनानुदिन यसको विकास अगाडि बढिरहेको बताउनुभयो। 

विद्यालयका प्रधानाध्यापक टंक रिजालले विद्यार्थीको आन्तरिक मूल्यांकन सँगै बालमैत्री वातावरणमा विद्यार्थीको मनोभावनालाई बुझी पढाइने बताउनुभयो। उहाँले भन्नुभयो“ राष्ट्रिय शिक्षा नीति अनुसार विद्यार्थीहरुलाई भयरहित, दण्डरहित वातावरणमा विद्यालय सञ्चालन गरिरहेको पनि बताउनुभयो । विद्यालय तातेताते गरेर यहाँसम्म आइरहेको सम्झना गर्दै उहाँले समाजसँग हरेक काममा सक्रियताका साथ हरेक गतिविधि सँग जोडिएर काम गरिरहेकोे बताउनुभयो ।


कार्यक्रममा समाजसेवी व्यक्तित्व बद्रीभक्त मैनालीले मौलाकालिका मन्दिरमा आउँदा केही गरौं गरौं लागेर मौलाकाली देवी भगवतीको शरणमा ल्याएको बताउनुभयो । उहाँले मौलाकालिका मन्दिर परिसरमा पानि पर्दा ओत लाग्ने ठाँउ पनि नभएकोले विश्रामस्थल निर्माणले भक्तजनलाई धेरै सहज हुने बताउनुभयो । 


कार्यक्रममा देवघाटधाम गण्डकी परिक्रमा महोत्सवका संयोजक उपप्रध्यापक फणीन्द्र प्रसाद पौडेल, जनक नमुना मावि विद्यालय व्यवस्थापन समिति एवं रामानुज वेदबिद्याश्रमका अध्यक्ष केशवप्रसाद सापकोटा जनक नमुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानध्यापक चुडामणि शर्मा कँडेल ,कालिका संस्कृत विद्यापीठका निवर्तमान प्रधानाध्यापक डा रामचन्द्र कँडेल, लगायतले मौलाकालिका धार्मिक सेवा समिति द्वारा सञ्चालित गुरुकुलमको खुलेरै प्रशंसा गर्नुभयो। उहाँहरुले गुरुकुलममा पढेका विद्यार्थीहरूको भविष्य निकै उज्ज्वल रहने पनि बताउनुभयो।


कार्यक्रममा गुरुकुलममा कक्षा ९ मा पढ्ने विद्यार्थी सफल सुबेदीले अंग्रेजीमा र निलकण्ठ रिजालले संस्कृतमा मन्तव्य राख्नुभएको थियो।
मौलाकाली मन्दिर परिसरमा निर्माण गरिएको विश्रामस्थल तथा प्रतीक्षालयको काठमाडौँ  १० बानेश्वर निवासी समाजसेवी व्यक्तित्व बद्रीभक्त मैनाली, यसोदा मैनाली, आशिष मैनाली परिवारको सहयोगमा निर्माण गरिएको हो। मौलाकालिका गुरुकुलम व्यवस्थापन समितिका अध्यक्ष  हरि प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण मन्दिरका सचिव श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो।


२०७८ सालमा स्थापना भएको गुरुकुलममा कक्षा ६ देखि १० कक्षासम्म पढाइ हुन्छ। अहिले पहिलो ब्याचको रुपमा एसइइ दिने विद्यार्थी रहेका छन् । गुरुकुलममा ५० जना विद्यार्थी अध्ययनरत छन् भने ६ जना पूर्णकालीन शिक्षकहरू कार्यरत रहेका छन्। 


नवलपुर गैडाकोट वडा नम्बर १ मा पर्ने मौलाकालिका मन्दिरमा भक्तजनहरूको  भिडभाड लाग्ने गर्दछ। शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजा-अर्चना आराधना एवम् उपासना गर्नाले मनले चिताएको मनोकाङ्‌‌क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहे‌को पाइन्छ । मानिसलाई दुःख, आपत‌विपत् र सङ्‌‌कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःख कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।

राष्ट्र‌को गौरव, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त शक्तिस्वरू‌पा मौलाकालिका भगव‌तीको मन्दिर हामी नेपालीको पहिचान हो । गैंडाकोट बासीको मात्र नभई सिङ्‌गो राज्यको शान हो । भावी पीढीलाई मन्दिरको अस्तित्व , महत्त्व , महिमा बताउनु आवश्यक हुन्छ ।  मन्दिरको संरक्षण र संवर्द्वन गर्नु हामी सबैको कर्तव्य हो ।