वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

२०८२ कार्तिक १८ मंगलबार १४:२४:०० मा प्रकाशित

चन्द्रपुर । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६ सय ३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

 


जिल्लामा बाढीले १७ हजार ६ सय ३८ हेक्टर खेतको धानबाली, एक हजार ८ सय ४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो ।


जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।

 

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६ सय ३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।