गाइने र समय
बाल्यकालमा देखेका, सुनेका र भोगेका कुराहरूको स्मरण गर्दा अहिले छुट्टै रमाइलो लाग्दो रहेछ । त्यो समय र अहिलेको समय अनि समयसँगै भएका भोगाइहरु भने आकाश पाताल झैँ फरक हुँदा रहेछन् । सानो छदा गाउँमा नयाँ केही कुरा पायौँ भने औधी रमाइलो लाग्थ्यो । आज मलाई सोही दिनहरुको झल्को आयो । २०८२-७-२७ गते बिहान ७ बजेर ४५ मिनेट भएको थियो । मैले भित्र बिहानको खाना बनाउने तयारी गर्दै थिएँ । एक्कासी अगाडि सारङ्गीको धुनसँगै गीत बज्दै थियो,
जाने का होला, जाने का होला,
उनै रामलाई था होला जाने का होला,
म हत्तनपत्त छिट्टो उम्काउने भनेर तल झरेँ । किनकि मलाई हतार थियो । हातमा पैसा थियो छिट्टै उम्काउने स्वरमा । तर त्यहाँ उहाँहरुलाई देखेपछि मलाई केही बुझ्ने जिज्ञासा जाग्यो । त्यो पनि मलाई तुरुन्तै बाल्यकालको स्मरण आएको हुँदा ।
सानो छँदा गाउँमा गाइने दाइहरु आउँथे । जसलाई गन्धर्व जाति आए पनि भनिन्थ्यो । एक्लै आए सारंगी मात्र लिएर आउने गर्थें । सारङ्गी बजाउँदै लोक भाकामा गीत गाउँथे । कोही आफ्नै उत्तराधिकारीलाई लिएर आउँथे । मादल बजाउन र गीतसँगै गाउन सिकाउँथे । हरेक पटक आउँदा सन्देशमूलक गीत अनि नयाँनयाँ भाका लिएर आउँथे । गाइनेहरुले पनि आ-आफ्ना गाउँ भाग लगाएर गीत गाउँदै हिड्ने गर्थे । टाढा टाढासम्म पुग्थे त्यसैले होला गाइनेहरु उनै पुरानै भएपनि उनीहरुले पटकै पिच्छे नयाँनयाँ सन्देशमूलक गीतहरु ल्याउँथे ।
लोकलयमा गाउँदै सारङ्गी र मादल बजाउँथे । उनीहरुले गाएको गीत सुनेर हामी केटाकेटी भने रमाइलो मानेर फुरुङ्गी हुन्थ्यौँ । कतिबेला रुन्थ्यौँ पनि । किनकि उनीहरुले कतै सासु बुहारीका कहानी त कतै देवर देवरानीका कहानी सुनाउँथे । कतैकतै नन्द भाउजू त कतै देवर भाउजूका दुखद कहानी सुनाउँथे । बिछोडिएका साथीभाइका कहानी सुनाउँथे । कतै मिलन र विछोडका गीत गाउँथे । कतैकतै युद्धमा मारिएका लाहुरेका कथा त कतै आफन्तले आफन्त नै मारेका कथा गीतका माध्यमबाट सुनाउँथे । पुराना पुराना लोकभाकामा नयाँ सन्देशमूलक गीतहरू गाउँथे, कतै परदेशिएका छोराका कथा त कतै हत्या र हिंसाका कथा, कतै राजा महाराजाका कथा गीतबाटै सुनाउँथे । हामी चाख मानेर सुन्थ्यौँ । अन्य कतैतिर केही मनोरञ्जनका माध्यमहरु नभएकाले पनि होला ।
बुढापाकाभन्दा हामी केटाकेटी गाइने आउँदा र उनीहरूले गीत गाउँदा अत्यन्तै हर्षित हुन्थ्यौ । मलाई लाग्थ्यो आमाले धेरैबेर रोकेर धेरै समय गीत गाउन लगाए हुन्थ्यो । उसले गीत गाउँदै गर्दा आमाले मकै छिटोछिटो नदिए हुन्थ्यो । मकै दिए पनि हाम्रो घरमा धेरै बेर गीत गाए हुन्थ्यो तर उनीहरू गाउँ भरिका धेरै घरमा जानु पथ्र्यो । पालैपालो उनै वा केही फरक सन्देशमूलक गीतहरू प्रत्येक घर सुनाउँथे । हामी केटाकेटी रमाइलो लागेर ती गाइनेका पछिपछि गाउँभरि गीत गाउँदा सबैका घरघरमा जान्थ्यौँ । सबैका आमाहरुले जति बोलाउँदा पनि नसुने झैँ गरेर गाइनेका अघि पछि गरेर हामी सबै घर पुग्थ्यौँ ।
गाइनेहरूले थोरै अन्न जे दिए पनि झोली थापेर हिँड्थे । कसैले मकै छोडाएका दाना कचौरामा ल्याएर झोलीमा थपिदिन्थे भने कसैले घोगा मकै त कसैले पैसा पनि दिन्थे। गाउँमा लाहुरे आएका छन् भने उनीहरुले गीत गाउँदै पैसा थप झार्ने जमर्को गर्थे । मकै घोगासँगै लैजाने गर्थे । राति बास बस्ने ठाउँमा मकै छोडाएर डाँठ बालेर खाना पकाउन सजिलो हुन्छ भन्थे । गाउँमा होटलको व्यवस्था थिएन । कसैले-कसैले बाहिर बास दिन्थे भने कसैको खाली घर गोठ भए त्यसैमा बास बसेर पकाएर खान्थे ।
त्यसैले होला आजका गाइने देखेर मलाई केही उत्सुकता जाग्यो । पहिले उहाँहरु गाइने हो कि होइन भनेर बुझ्न मन लाग्यो । उहाँहरु दुई जना हुनुहुन्थ्यो । दुबै जना झण्डै छ दशक माथिकै हुनुपर्छ ।
घर सोधेँ अर्घाखाँचीको सन्धिखर्क नजिकै बिहार भन्ने ठाउँमा बताउनुभयो । नाम सोधेँ भन्नुभयो ।
भोल बहादुर गन्धर्व
जुल्फे बहादुर गन्धर्व

मलाई विश्वास लाग्यो । किनकि हामी सानो छँदा हाम्रो गाउँमा जाने गाइने दाइहरु पनि त्यही अर्घाखाँचीको सन्धिखर्क नजिकैका हुनुहुन्थ्यो । उहाँहरुको अनुमति लिएर मैले फोटो भिडियो लिएँ । मैले सोधेंँ, तपाईंहरुले त लोकभाकामा गाइने गाना गाउने होइन र ?
जुल्फे गन्धर्वले भन्नुभयो, हजुर बहिनी हो नि, हुन त । तर आजभोलि हाम्रा ती गाइने गाथा गाएको कसैले नसुन्ने रहेछन् । सुन्ने मान्छे त्यस्तै हो कि गाइने र समय फरक हो खै ? हामीले गाउने गीत त सबै समयले गाइदियो । मोबाइल र ल्यापटपले । त्यसैले, गाइनेहरुको अस्तित्व बचाउन भनेर ठाँउ अनुसारको गीत गाउँदै हिजो गैंडाकोट आएका हौँ । देवघाटको नजिकै भगवानकै गाथा गाएका हौँ बहिनी । मलाई मनमा चसक्क भयो, त्यो बेलाको म, समय र गाइने, यो बेलाको म, समय र गाइने ।
ती गाइने वा गन्धर्व नेपालका परम्परागत सारङ्गी अनि कथागत रुपमा गीत गाउँदै हिडेर जीविकोपार्जन गर्ने जाति हुन् । त्यतिबेला खासै सञ्चारका माध्यमहरू थिएनन्, मनोरञ्जनका साधनहरू थिएनन् । उनीहरू प्रायः गाउँ-गाउँमा घुम्दै सारङ्गी र भए मादल जस्ता वाद्य यन्त्र बजाउँदै गीत गाउँदै हिड्ने गर्थे । गाइनेहरू लोक भाकामा सन्देशवाहक गीतहरु गाउँदै हिड्ने गर्थे त्यसैले उनीहरु लोकगायकका रूपमा चिनिन्थे ।
गाइनेभन्ने नाम पनि गाउने मानिस भन्ने अर्थमा प्रचलित भएको होला, गीतमार्फत समाजका घटना, नायक-नायिका, प्रेम, पीडा, र विगतका कथा प्रस्तुत गर्ने गर्थे । नेपाली लोकसारङ्गको जरा गन्धर्वहरूको गीत र सारङ्गीमा गढिएको मानिन्थ्यो ।
उनीहरूले लोकसंस्कृति, परम्परा र इतिहास जीवित राख्न ठूलो योगदान दिएका थिए । तर अहिले धेरै गन्धर्वहरू कृषि, रोजगारी र आधुनिक सारङ्गी क्षेत्रमा पनि सक्रिय भएका कारण यो जातिको परम्परागत पेशा विलुप्त हुन पुगेको छ । धेरै गन्धर्वहरू शहरतिर गएर अन्य व्यवसाय गर्न थालेका छन् । संस्कृतिको जगेर्ना गर्ने हो भने आधुनिककतालाई पनि आत्मसात् गर्दै सरकार विभिन्न संघसंस्था र स्वयम् गन्धर्व जातिले पनि सङ्गीत संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू ल्याएर गाइने वा गन्धर्वहरुको परम्परा संरक्षण गर्नुपर्छ ।