कालिका संस्कृत विद्यापीठमा ज्योतिष परामर्श केन्द्रको उद्घाटन

२०८२ मङ्सिर १ सोमबार १७:३३:०० मा प्रकाशित

गैँडाकोट । नेपाल संस्कृत विश्वविद्यालय कालिका संस्कृत विद्यापीठमा ज्योतिष परामर्श केन्द्रको उद्घाटन गरिएको छ । साथै आइतबार  शास्त्री प्रथम, द्वितीय, तृतीय र चतुर्थ खण्डमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत  गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधवप्रसाद अधिकारीले कालिका संस्कृत विद्यापीठले समाजलाई धर्म, संस्कार, संस्कृति, अध्यात्मको बाटोबाट जोड्ने विश्वास व्यक्त गर्नुभएको छ । ज्योतिष परामर्श केन्द्रले विद्यापीठको गरिमा थप बढ्ने अधिकारीले बताउनुभएको छ । 


ज्योतिष परामर्श केन्द्रले विषेश गरेर तिथी मिति, साइत, कुण्डली, फलादेश आदीको बारेमा सेवा दिने छ । कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिको अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योतिष परामर्श केन्द्रको दिगो सेवासहित सफलताका लागी विद्यार्थी प्रतिनिधी गणेश भण्डारी, अभिभावक प्रतिनिधी सावित्री टण्डन लेखा अधिकृत बेलबहादुर दराइ, सहप्राध्यापक डा. मतिप्रसाद ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण उपप्रध्यापक कपिलदेव भट्राईले गर्नुभएको थियो । आजबाट सञ्चालनमा आएको ज्योतिष परामर्श केन्द्रबाट ज्योतिषीय परामर्श सम्बन्धी विवध सेवाहरु सबैका लागी उपलब्ध हुने विद्यापीठका सहायक प्रसाशक विजय सापकोटाले बताउनुभयो ।