माडी वैकुण्ठेश्वर मेलाको तयारी अन्तिम चरणमा
माडी । माडी वैकुण्ठेश्वर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर ३ गते माडीमा लाग्ने बालाचतुर्दशी वैकुण्ठेश्वर मेलाको तयारी अन्तिममा पुगेको आयोजकले जनाएको छ ।
माडी नगरपालिका-८ स्थित माडीको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल वैकुण्ठधाममा यसवर्ष पनि विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
मेलाको सन्दर्भमा यसवर्ष पनि भेट्रान तथा युवा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ केजीको खसी र द्वितीय पुरस्कार दुईवटा हाँस राखिएको वैकुण्ठ पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले जानकारी दिनुभयो । मेलाको तयारीअन्तर्गत हालसम्म मेला लाग्ने चौर र वरपरको क्षेत्र सफाइ, खानेपानी व्यवस्थापन, मन्दिर, शिवलिङ्ग र मूर्तिहरुमा रंगरोगन, पार्किङका लागि स्थानीय युवा क्लबलाई जिम्मेवारी प्रदान तथा वैकुण्ठ तालनजिक बाटोमा ढुङ्गा छपनी गरिएका छन् ।
धार्मिक मान्यताअनुसार बालाचतुर्दशीका दिन वैकुण्ठेश्वरधाम क्षेत्रमा शतबीज छर्ने प्रथा परापूर्वकालदेखि चलिआएको छ । श्रद्धालु भक्तजनहरुले गहुँ, मकै, कोदो, धानजस्ता अन्न शतबीजका रुपमा छर्ने गर्दछन् । यसरी शतबीज छर्दा आत्माले अर्को जन्ममा भोको बस्नु नपर्ने धार्मिक जनविश्वास छ ।
मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोमिश्रित शतबीज मन्दिरवरपर छर्ने चलन छ । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको मेला व्यवस्थापन संयोजक परियारले जानकारी दिनुभयो । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट शतबीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ ।
उहाँका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकनसँगै विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् । यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टावक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ । बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ । श्रीराम वनवास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ । मेलामा चर्चित राष्ट्रिय लोकदोहोरी गायिका भूमिका गिरी र इन्द्रेणी कार्यक्रमका गायक बालचन्द्र बरालको विशेष सांगीतिक प्रस्तुति रहने छ ।