बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२०८२ मङ्सिर २ मंगलबार १५:४२:०० मा प्रकाशित

काठमाडौं । बागमती नदीको गुहेश्वरी-गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।

 

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा क्षति पुगेको हुुँदा ढल मर्मत पनि सुरु गरिएको छ । साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ ।