जनक नमुना माविमा बुक्स एण्ड बियोण्ड रिकग्नीसन कार्यक्रमको समापन
नवलपरासी पूर्व । जनक नमुना माध्यमिक विद्यालयमा पठन संस्कृति विकासका लागि बुक्स एण्ड बियोण्ड रिकग्नीसन कार्यक्रमको शुभारम्भ गरिएको छ । विद्यार्थीहरुमा पठन संस्कृति सीपको विकास गर्नका लागि पढेका पुस्तकहरुको समिक्षा गर्ने कार्यको थालनी गरिएको अंग्रेजी विषय विभाग प्रमुख मनोज विक्रम विष्टले बताउनुभयो ।
प्रत्येक ४ महिनामा एकपटक हुने बुक रिभ्यु कार्यक्रमले विद्यार्थीहरुमा पठन संस्कृति विकासमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पण्डितले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तथा समालोचक एलबी क्षेत्रीले शिक्षित बनेपछि असल नागरिक बन्न सकिने र असल नागरिक बनेपछि देश राम्रो बन्ने हुँदा विद्यार्थीहरुमा पठन संस्कृति स्थापित गर्न आवश्यक भएको बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्याल, शिक्षा तथा समन्वय इकाइ नवलपरासी पूर्वका प्रमुख दिपेन्द्र विष्ट, शिक्षा तथा समन्वय इकाइ लमजुङका प्रमुख दिवाकर शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, साहित्यकार उदय अधिकारी लगायतले विद्यालयमा भएको असल अभ्यासले विद्यार्थी पढ्ने, सोच्ने, विश्लेषण गर्ने र बोल्ने सीपको विकासमा सहयोग पुग्ने बताउनुभयो । गजलकार लेखराम सापकोटा, शिक्षक मोनिका कंडेलले रचना प्रस्तुत गर्नुभएको थियो ।
जनक नमुना माध्यामिक विद्यालयका विद्यार्थीहरु आँचल अधिकारी, गृष्मा घिमिरे, श्रुती पौडेल, प्रज्ज्वलसागर पौडेल, रोजिता पौडेल, समृद्धि, भविष्य केसी, लक्ष्मी, रिवाज पौडेल लगायतले विभिन्न पुस्तकका बारेमा आफ्नो अुनभव सुनाएका थिए ।
विद्यार्थी प्रकृति रेग्मीले अतिथिहरुलाई मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो । शिक्षक हिमालदेव पंगेनीले कार्यक्रमको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो भने शिक्षक मिना वाचेले अतिथि तथा सहभागिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण अंग्रेजी विभाग प्रमुख मनोजविक्रम विष्टले गर्नुभएको थियो । कार्यक्रम जनक इङ्लिस क्लबका अध्यक्ष रोजिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।