प्रथम वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट ४ लाई

२०८२ मङ्सिर २० शनिबार १९:१७:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा प्रथम वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न भएको छ। गैंडाकोट वडा नम्बर ६ खेलकुद विकास समितिको आयोजनामा शनिबार जनक नमुना माविको खेलमैदानमा फाइनल खेल भएको हो। आज भएको फाइनल खेलमा गैंडाकोट वडा नम्बर ४ र गैंडाकोट वडा नम्बर १५ बीच प्रतिस्पर्धा भएको थियो।  

 

फाइनल प्रतिस्पर्धामा गैडाकोट वडा नम्बर ४ ले वडा नम्बर १५ लाई शून्य का विरुद्ध एक गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि जितेसँगै वडा नम्बर ४ ले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बनेको वडा नम्बर १५ ले नगद १५ हजार, कप ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गैडाकोट वडा नम्बर ६ खेलकुद विकास समितिका अध्यक्ष आशु गुरुङले जानकारी दिनुभयो। खेलको म्यान अफ द म्याच गैंडाकोट वडा नम्बर ४ का किशन भुजेल हुनुभएको छ।  त्यस्तै सर्वाधिक गोलकर्ता वडा नम्बर १५ का कर्णबहादुर गुरुङ ,प्रतियोगिताको बेस्ट किपरको रूपमा गैंडाकोट वडा नम्बर ४ का दीपक रिमाल हुनुभएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्लेयरको रुपमा वडा नम्बर ४ का अजय पौडेल हुनुभएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, बेस्ट किपर, बेस्ट प्लेयरलाई नगद दुई हजार सहित कप प्रदान गरिएको थियो ।


प्रतियोगितामा गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले भेट्रान फुटबलले खेलाडीहरूलाई प्रोत्साहन हुने बताउनुभयो।


नवलपुर  जिल्ला फुटबल संघको महासचिव लक्ष्मण कार्कीले यस्तो किसिमको प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाले वडास्तरीय खेलकुद विकास समिति सक्रिय गराउन पनि यसले भूमिका खेल्ने बताउनुभयो।


गैडाकोट नगर खेलकुद बिकास समितिको प्रद्धधनमा भएको प्रतियोगिता यही मङ्सिर १८ देखि २० गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा खेलकुद प्रेमी समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।