बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

२०८२ मङ्सिर २२ सोमबार १२:५८:०० मा प्रकाशित

विराटनगर । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर बिरामी परेका छन् । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिएकी थिइन् ।

 

बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

 

प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशङ्का गरेका थिए ।

 

घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले जनाएको छ । बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।

 

घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले जनाएको छ । प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।