तिहारमा बनाइने आकृतिलाई भरतपुर महानगरले शौचालयमा राखेपछि थारु समुदायको बिरोध
चितवन । झट्ट हेर्दा यो कुनै थारु समुदायको घर हो । चाडबाडको बेला थारु समुदायले आ–आफ्नो घर यसरी नै विभिन्न आकृतिसहितको आकर्षक भित्ता बनाउछन् । तर महत्वपूर्ण संस्कृतिसंग जोडिएको यो आकृतिलाई भरतपुर महानगरले शौचालयमा पुर् याएपछि अहिले चौतर्फी बिरोध सुरु भएको छ ।
भरतपुर महानगरले उद्घाटन गर्ने तयारीमा रहेको यो स्मार्ट शौचालय महानगर र वीरेन्द्र बहुमुखी क्याम्पसको बीच भागमा छ । बाटो छेउमै रहेकाले सबैको ध्यान यो शौचालयमा जान्छ । तर महानगरले गलत तरिकाले आफ्नो संस्कृतिलाई शौचालयसंग दाजेको भन्दै थारु समुदायले सामाजिक संजाल मार्फत बिरोध जनाइरहेका छन् ।
पूर्वी चितवनका थारु बुद्धिजीवी कारी चौधरी फेसबुकमा लेख्छन्ः ‘यो कसको अवधारणा हो,जसले यो अवधारणा ल्यायो र जुन संस्थाले यो काम गर्यो, त्यसलाई मेरो तर्फबाट दिशा कुल्चेको खुट्टाले सलाम ११
म थारू समुदायको एक सदस्य भएकोले एकदमै अपमानित महाशुस गरिरहेको छु । मेरो कला र मेरो सँस्कृतिबाट शौचालय सिगार्ने कुकर्मप्रति घोर भर्त्सना गर्दछु । जुन चीजलाई हामीले सम्मान गर्छौ । जसको पूजा गर्छौं, त्यसलाई शौचालयमा सिगारेर के देखाउन खोजिएको हो, यसको जवाफ सिङ्गो समुदायलाई दिनुपर्छ । हाम्रो छाता संगठनले तुरून्त एक्सन लिन जरूरी छ ।’
त्यही फोटो शेयर गर्दै थारु समुदायका गायक संजय चौधरी लेख्छन्ः थारू कल्याणकारी चितवनले तुरून्तै एक्सन लियोस । यो थारू कला संस्कृति तथा भावना माथी ठूलो खेलवाड हो ।
यो विषय चौतर्फी उठान भएपछि थाकस चितवनका सभापति ललित चौधरीले तत्काल भरतपुर महानगरका प्रमुख, वडा अध्यक्षहरु र सम्बन्धित विभागहरुसंग कुरा गरेको बताए । शौचालयको भित्तामा कोरिएका आकृतिहरु आफूहरुको महत्वपूर्ण चाडपर्वसंग जोडिएको विषय भएकाले आपत्ति प्रकट गर्दै त्यसलाई सच्याउन आग्रह गरिएको बताए । महानगरबाट पनि सकरात्मक प्रतिक्रिया आएको र छिट्टै सच्याृउने तयारी भइरहेको बताए । ‘शौचालयको भित्तामा सजाईएको आकृति हाम्रो तिहारमा घर सजाउने बेला कुदिने आकृति हो, हाम्रो अपमान भएको महसुस भएपछि तत्काल सच्याउन लगाएका छौं’–सभापति चौधरीले भने ।
चौतर्फी बिरोध भएपछि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललगायतको टोली आज शौचालयको निरीक्षण समेत गरेको छ । महानगर प्रमुख चित्रसेन अधिकारीले थारु समुदायको अपमान हुने गरि काम नगरेको भन्दै त्यसलाई तत्काल सच्याउने बताए । भरतपुर महानगरपालिकाले महानगर भित्र सार्वजनिक ठाउँहरुमा स्मार्ट शौचालय बनाउने नीति लिएको छ ।