जिल्ला कृषि सहकारी संघ लिमिटेडको चौथो साधारण सभा सम्पन्न
नवलपुर । जिल्ला कृषि सहकारी संघ लिमिटेडको चौथो वार्षिक साधारण सभा बुधबार कावासोतीस्थित जिल्ला सहकारी संघ लिमिटेडको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुलीले हाल राज्यको पूँजीगत खर्च सुस्तिँदै गएको र आर्थिक मन्दीका कारण सर्वसाधारण पछाडि पर्न बाध्य भएको उल्लेख गर्दै सहकारी व्यवस्थापनलाई अझ व्यवस्थित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको मूल्य, सिद्धान्त र सुशासनलाई आत्मसात् गर्दै नियमबद्ध तरिकाले अघि बढे आर्थिक मन्दी जस्ता चुनौतीहरू सहजै पार गर्न सकिने धारणा व्यक्त गर्नुभयो । पराजुलीले सहकारीका सूचकहरू सही ढंगले कायम राख्नुपर्ने, सञ्चालन नीतिलाई प्रभावकारी बनाउने तथा प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्दै सहकारी क्षेत्रलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभयो ।
जिल्ला कृषि सहकारी संघ लिमिटेडले हाल कृषिसँग आवद्ध १६ वटा प्राथमिक सहकारी संस्थाहरूलाई समेट्दै छाता संगठनका रूपमा रणनीतिक योजना बनाई अगाडि बढ्ने कार्यनीति अवलम्बन गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१÷८२ का कार्यक्रमहरूको समीक्षा तथा २०८२÷८३ का भावी योजनाहरू प्रस्तुत गरिएको थियो । जिल्ला विभाजन पश्चात् गठन भएको संघले जिल्लाभित्र रहेका कृषि क्षेत्रसँग सम्बन्धित सहकारी संस्थाहरूलाई साझा अभियानमार्फत सबलीकरण गर्दै आएको संघले जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष देवकी कुमारी भण्डारीको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलकप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संघका उपाध्यक्ष खुमाकान्त गौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संघका सचिव हरि बहादुर बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघ लिमिटेडका सचिव श्याम सुन्दर लामिछाने, राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाका प्रबन्धक धर्म भुजेल, जिल्ला कृषि सहकारी संघ लिमिटेडका सदस्य, पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।