गैंडाकोटमा ३ दिने मखमलि सिर्जना तथा सिप विकास तालिमको शुभारम्भ
गैंडाकोट । गैंडाकोटमा ३ दिने सिपमूलक तालिमको शुभारम्भ भएको छ । नेःवा मिसा दबू गैंडाकोट नगरसमितिको आयोजनामा तथा गैंडाकोट नगरपालिकाको सह-आयोजनामा शनिबारदेखि मखमलि सिर्जना तथा सिप विकास तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोइरालाले सिपमूलक तालिमको शुभकामना व्यक्त गर्दै सहभागी महिला दिदीबहिनीहरुलाई धैर्यताका साथ तालिम लिएर सिकेको सिपलाई व्यवहारिक र व्यवसायिक रूपमा रूपान्तरण गर्न आग्रह गर्नुभयो । उपप्रमुख कोइरालाले आफुहरुले नगरपालिकामा कोशेली घर निर्माण गर्ने सोच राखेको बताउँदै स्थानीय स्तरमा निर्माण हुने सामग्रीहरू सोही कोशेली घरमार्फत बजारीकरण गर्न सकिने बताउनुभयो ।
पहिले नेवारी समुदायमा मात्र सीमित विवाह, व्रतबन्धलगायत संस्कारमा प्रयोग हुने सायपाटा सामग्री अहिले सबै समुदायमा प्रचलनमा आएकाले यस सिपले आत्मनिर्भरता र आम्दानी दुवै बढाउने विश्वास व्यक्त गर्नुभयो । सिप, व्यवसाय शुरु गर्ने माध्यम रहेको र एकपटक सिकेको सिप जीवनभर काम लाग्ने भएकाले एउटै सिपमा निरन्तर लाग्न उपप्रमुख कोइरालाले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेःवा मिसा दबूकी अध्यक्ष सिता श्रेष्ठले संस्थाद्वारा सञ्चालन गरिएको तालिमलाई ध्यानपूर्वक सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले महिला दिदीबहिनीहरूका लागि कार्यक्रम सञ्चालन गर्नु सजिलो नभएको उल्लेख गर्दै संस्थाले नेवारी समुदायमा मात्र नभई सबै वर्ग र समुदायलाई लक्षित गरी सामाजिक कार्य गर्दै आएको बताउनुभयो । घरधन्दाको व्यवस्थापन गर्दै समयको सदुपयोग गरी सिप सिकेर व्यवसायिक रूपमा अगाडि बढ्न उहाँले अनुरोध गर्नुभयो ।
तालिमकी प्रशिक्षक गोमा अमगाईले ३ दिने तालिम अवधिमा विवाह, व्रतबन्ध, पास्नी तथा अन्य धार्मिक तथा सामाजिक कार्यक्रममा प्रयोग हुने सायपाटा सामग्री-नरिवल, डालो, नाङ्लो, किस्ती आदिमा जडी र मखमली सितालाबाट सजावट गर्ने सिप तालिमभर प्रदान गरिने र पहिलो दिन किस्तीबाट तालिम शुरु गरिने जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष बविता वलामी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव शर्मिला श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
तालिममा जनजाति, आदिवासी, दलित तथा सबै जातिका गरी ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम सोमबार समापन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेःवा दय दबू जिल्ला समिति नवलपुरका कोषाध्यक्ष काजीमान श्रेष्ठ, नारायणी नवदुर्गा भवानी मन्दिरका कोषाध्यक्ष राजकुमार श्रेष्ठ, नेःवा दय दबू गैंडाकोट नगरसमितिका अध्यक्ष शिवजंग श्रेष्ठ, नेपाल आदिवासी जनजाति परिषद्का कोषाध्यक्ष कृष्णमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
गैंडाकोट-२ स्थित नारायणी नवदुर्गा भवानी मन्दिर परिसर, नारायणी किनारमा सञ्चालन भइरहेको तालिममा सहभागी प्रशिक्षार्थीहरूले उत्साहका साथ सिप सिकिरहेका छन् ।