देशभरका कुरियर व्यवसायिहरुको गैँडाकोटमा भेला : केन्द्रीय विधानमा जिल्ला र प्रदेशले खोजे आफ्नो अस्तित्व

२०८२ पौष १९ शनिबार २०:२०:०० मा प्रकाशित


नवलपरासी पूर्व । नेपाल कुरियर्स सेवा संघका केन्द्रीय अध्यक्ष अनिलराज भण्डारीले कुरियर व्यवसायमा आवद्ध व्यवसायिहरुको हकहितका लागि केन्द्रले पहलकदमी गरिरहेको बताउनुभयो । शनिबार नेपाल कुरियर्स सेवा संघ चितवनको आयोजनामा गैँडाकोटमा भएको अन्तक्र्रिया तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले प्रदेश समिति र जिल्लास्तरीय समितिको अस्तित्वलाई केन्द्रीय विधानमै उल्लेख गर्ने गरी संशोधनको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कुरियर सेवा संघ (कोसान) नेपाल कुरियर व्यवसायिहरूको छाता संगठन भएकोले कुरियर सेवाहरुलाई एकीकृत गर्दै उनिहरुको साझा हित संरक्षण, व्यवसायिक मानक निर्धारण र नीति नियमनमा समन्वयको काम गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 


कोसानका पूर्व अध्यक्षहरु नरेन्द्र खतीवडा र गोविन्द ढुङ्गेलले संस्थागत एकता र सहकार्यले कोसानलाई अझै अघि बढाउन सकिने भन्दै शुभकामना प्रदान गर्नुभएको थियो  । कार्यक्रममा नेपाल कुरियर्स सेवा संघका प्रथम उपाध्यक्ष सञ्जय मण्डल, कोशी प्रदेशका अध्यक्ष कृपानारायण चौधरी, मधेश प्रदेशका अध्यक्ष भरत अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष रामु पौडेल, लुम्बिनी प्रदेशका अध्यक्ष श्रीधर पोखरेल, सुदुरपश्चिम प्रदेशका अध्यक्ष अनिल चौधरी, कर्णाली प्रदेशका सचिव सुकदेव लगायतले विधान संशोधन तथा संस्थागत विकासका लागि सहकार्यका सम्बन्धमा आफ्ना आफ्ना धारणा प्रस्तुत गरेका थिए । 


अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल कुरियर्स सेवा संघ बागमति प्रदेशका अध्यक्ष अर्पणबाबु सुवेदीले कुरियर व्यवसायिहरुको हकहित संरक्षण तथा दैनिक कार्यसम्पादनका क्रममा आउने नीतिगत अप्ठेरोहरुलाई सहजीकरण गर्दै जाने बताउनुभयो । 


अन्तक्र्रिया कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई नेपाल कुरियर्स सेवा संघ चितवनका अध्यक्ष श्रीभद्र खनालले स्वागत गर्नुभएको थियो । अतिथिहरुलाई स्वागत गर्दै खनालले केन्द्रीय विधानमै जिल्ला र प्रदेशको अस्तित्व समावेश गर्नुपर्ने विषय उठान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समितिका उपाध्यक्ष सुनिल पाठकले कार्यक्रमको उद्देश्य माथि प्रकाशन पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गर्नुभएको थियो । 


नेपाल कुरियर्स सेवा संघ जिल्ला कार्यसमिति चितवन र बागमति प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबारकै कार्यक्रममा केन्द्रीय अध्यक्ष अनिलराज भण्डारीले सपथ गराउनुभएको छ । कार्यक्रममा २५ वर्ष कुरियर्स सेवामा आवद्ध आइतसिंह गुरुङलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो । अष्ट्रेलियामा रहनुभएका गुरुङको सम्मान उहाँकी छोरीले ग्रहण गर्नुभएको थियो । 


कार्यक्रमको दोस्रो सेसनमा संस्थागत विकास तथा विधान संशोधन लगायतका विषयमा बृहत छलफल भएको नेपाल कुरियर्स सेवा संघका महासचिव कृष्ण नेपालले बताउनुभयो । 


नेपाल कुरियर्स सेवा संघ चितवनमा गत श्रावणमा भएको निर्वाचनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष श्रीभद्र खनाल, उपाध्यक्ष सुनिल पाठक, उपाध्यक्ष आइतसिंह गुरुङ, सचिव जेकिङ कुमाल,  कोषाध्यक्ष मोहनबहादुर रायमाझी, सहसचिव विष्णु नेपाली, सदस्य प्रवल भट्राई,  सदस्य शंकर गुरुङ, सदस्य कृष्ण गैरेलेले शनिबार सपथ ग्रहण गर्नुभएको छ । यसैगरी अर्पण बाबु सुवेदीको नेतृत्वमा गठित नेपाल कुरियर्स सेवा संघ बागमति प्रदेशको कार्यसमितिले पनि सपथ ग्रहण गरको छ । 
 

ताजा खबर