एमाले गैँडाकोटका नेता चालिसेको राजिनामा, अब स्वतन्त्र रहने
गैडाकोट नेकपा एमाले गैडाकोट नगर कमिटीका नगर लेखा अध्यक्ष श्रीहरी चालिसेले आफ्नो पदिय जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा पार्टीको नीति, सिद्धान्त र मान्यताप्रति सम्मान रहँदा–रहँदै पनि व्यक्तिगत स्वभाव, समयको अभाव तथा समग्र नेतृत्व अभ्यासका कारण आफूले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने महसुस भएको उल्लेख गर्नुभएको छ ।
श्रीहरी चालिसे केही समयदेखि सामाजिक सञ्जालमार्फत नेकपा एमालेको मूल नेतृत्वप्रति प्रश्न उठाउँदै आउनुभएको थियो । उहाँले नेतृत्व अभ्यासमा सैद्धान्तिक बहसभन्दा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको अनुभूति व्यक्त गर्दै आउनुभएको थियो ।
पदमा रहेर स्वतन्त्र विचार व्यक्त गर्दा नैतिक प्रश्न उठ्न सक्ने भन्दै उहाँले पार्टी नेतृत्वसँग आफूलाई पदिय जिम्मेवारीबाट मुक्त गरिदिन अनुरोध गर्नुभएको हो । अब स्वतन्त्र मतदाताको रुपमा रहने बताउनुभएको छ ।
फेसबुक स्टाटसमा पार्टीलाई अप्ठेरो नभए साधारण सदस्य रहन सक्ने संकेत गरेपनि हामीसँग अब स्वतन्त्र रहने बताउनुभएको छ । श्रीहरी चालिसेले आगामी दिनमा कुनै पनि राजनीतिक दलसँग औपचारिक रूपमा आबद्ध नरही समाजका सकारात्मक गतिविधि, असल नेतृत्व तथा जनहितका कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।