गैंडाकोटमा अपाङ्गता भएका व्यक्तिहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०८२ माघ २१ बुधबार १८:५४:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बुधबार गैंडाकोट-८ स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी तालिमको समापन गरिएको हो ।

 

समापन कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोइरालाले अपाङ्गता भएका व्यक्तिहरू अरूमा निर्भर नभई आत्मनिर्भर र सक्षम बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले नवगठित नगरस्तरीय अपाङ्गता सञ्जालमा निर्वाचित पदाधिकारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । साथै आ-आफ्ना वडामा रहेका  अपाङ्गता भएका व्यक्तिहरूलाई सक्रिय बनाउन अनुरोध गर्नुभयो । नगरपालिकाले आगामी दिनमा सकेसम्म आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

 

तालिमकै क्रममा अपाङ्गता भएका व्यक्तिहरूको नगरस्तरीय सञ्जाल गठन गर्दै नयाँ समिति चयन गरिएको छ । जसअनुसार अध्यक्षमा विष्णु गिरी, उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा पार्वती सापकोटा, कोषाध्यक्षमा गंगामाया श्रेष्ठ र सहसचिवमा नरहरी चापागाईं चयन हुनुभएको छ । सदस्यहरूमा कृष्ण सुवेदी, चन्द्रलाल पुलामी, सुखबहादुर गुरुङ, चुडामणि महतो र पदमबहादुर हमाल रहनुभएको छ ।

 

 

तालिममा प्रशिक्षक पार्वती सिग्देल र नर्मदा पाण्डेले बैठक सञ्चालन प्रक्रिया, निर्णय अभिलेखीकरण तथा माइन्युट लेखन सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी मिना सापकोटाले गर्नुभएको थियो ।