श्री राधाकृष्ण मन्दिर सेवा समितिको १५औँ वार्षिक साधारण सभा एवं ८औँ अधिवेशन सम्पन्न
गैडाकोट । श्री राधाकृष्ण मन्दिर सेवा समितिको १५औँ वार्षिक साधारण सभा एवं ८औँ अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम शनिबार गैडाकोट–५ स्थित कुसुमघाट राधाकृष्ण मन्दिर परिसरको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले मन्दिरले हालसम्म उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। गैडाकोट मन्दिरै–मन्दिरले भरिएको धार्मिक नगर भएको बताउँदै उहाँले हिन्दु धर्ममा विश्वास राख्ने नेपालीहरूले धर्म–कर्मलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले मन्दिरको तटबन्धनलगायत आवश्यक विकास कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मन्दिरको समग्र विकासका लागि सधैँ सहयोग रहने बताउनुभयो। साथै, नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा डिल्लीप्रसाद अम्वे, उपाध्यक्षमा मेघराज कँडेल, सचिवमा डम्मरराज गौतम, कोषाध्यक्षमा पार्वती हुमागाईं र सह–सचिवमा होमनाथ पौडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा राकेश कुमार हरलाल्का, शान्ति सिग्देल र धनमाया गिरी रहनुभएको छ।
कार्यक्रममा गैडाकोट–५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, सत्सङ समन्वय समितिका संयोजक डा. नारायणप्रसाद गौतम, राधाकृष्ण सत्सङका प्रमुख कथा वाचक माधवप्रसाद चालिसे, सत्सङ कार्यक्रमका संस्थापक आदरणीय गुरु चतुभुर्ज पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सचिव डिल्लीप्रसाद अम्वेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको आम्दानी–खर्च विवरणसम्बन्धी प्रतिवेदन बिनोद थापाले प्रस्तुत गर्नुभएको थियो।
खिमलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव डिल्लीप्रसाद अम्वेले गर्नुभएको थियो।