एभरग्रीन एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम

२०८२ माघ २६ सोमबार १७:३०:०० मा प्रकाशित

गैंडाकोट । एभरग्रीन एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सोमबार गैंडाकोट–२ स्थित विद्यालय परिसरमा सम्पन्न भएको छ । एकेडेमीका प्राचार्य नारायणप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्राचार्य नारायणप्रसाद सापकोटाले २०६७ सालमा स्थापना भएको विद्यालयले विभिन्न संघर्ष र चुनौती पार गर्दै शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । उहाँले समयको मागअनुसार गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै हाल कक्षा ८ सम्म अध्यापन गराइँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ की वडा सदस्य सकिला छिनाल परियारले विद्यालय परिवारको निरन्तर प्रगतिको कामना गर्दै आगामी दिनमा वडाको तर्फबाट सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशेष अतिथि भृकुटी टोल विकास समितिका अध्यक्ष नारायण सापकोटाले विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गर्दै टोल विकास संस्थाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, विशेष अतिथि धार्मिक तथा सामाजिक व्यक्तित्व एवं विद्यालयका अभिभावक वेदप्रसाद गौडेलले विद्यार्थीलाई राम्रो संस्कारसहित शिक्षा प्रदान गरिरहेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । साथै उहाँले विद्यार्थीको शैक्षिक प्रगतिका लागि अभिभावकको नियमित चासो र निगरानी आवश्यक रहेकोमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती ढकाल सापकोटाले शान्त र अनुकूल वातावरणमा पठनपाठन गराइँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक टिकाराम ढकाल र लोक तथा दोहोरी गायिका उमादेवी खनालको आकर्षक सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा शिक्षक–अभिभावक संघका संयोजक हिरा पराजुली, ज्येष्ठ नागरिक तथा समाजसेवी धनप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य हितेश लम्साल र रेणुका गौतम, शिक्षक–अभिभावक संघका सदस्यहरू तारा खत्री, सन्जु शर्मा आचार्य, शिव थापा, विद्यालयका कानुनी सल्लाहकार शरदचन्द्र न्यौपाने लगायत अभिभावक तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सह–प्राचार्य कपिल न्यौपानेले गर्नुभएको थियो ।