गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न
गैंडाकोट। गैंडाकोट नगरप्रज्ञा प्रतिष्ठानको आयोजनामा विहीबार विजयादशमी, शुभदीपावली, छठ र नेपाल सम्वत ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा चाडपर्व विशेष रचना पाठ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको सभाहल जनक ग्यालरीमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले प्रतिष्ठानका गतिविधिहरुप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । निरन्तर साहित्य र संगीतका कार्यक्रमहरु सम्पादन गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण नगरवासीहरुमा आउदै गरेका सम्पूर्ण चाडपर्वको सुखद अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रमका विशेष अतिथिसमेत रहनुभएका गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले आफ्नो गच्छअनुसार चाडपर्व मनाउने शैली अपनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संगीत विभागका प्रमुख अमरविरही गुरुङ, लोक गायिका शारदा सापकोटा, सष्टाहरु उदय रेग्मी, सिर्जना लम्साल, जमुना लम्साल, विश्वराज सिग्देल, नारायणी शर्मा, भूमिका गैरे, मुकुन्द पौडेल, विष्णुमाया पन्थी, विनोद पौडेल, राधा पाण्डे, मुना धनञ्जय, गोविन्दराज कोइरालालगायतले चाडपर्व विशेष गायन र रचना पाठ गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ सदस्यद्वय डा. लक्ष्मीप्रसाद दवाडी र विनोद पौडेललाई स्वागत गरिएको थियो ।
गैंडाकोट नगरप्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्मा सुबेदीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । मौलिक चाडपर्व, धर्म, संस्कृति र परम्पराको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले शुभकामनाम कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।