गैँडाकोटमा आजदेखि राष्ट्रिय स्तरको क्रिकेट खेल हुँदै
नवलपरासी पूर्व । सर्वाधिक पुरस्कार राशीसहित पाँचौँ गैँडाकोट मेयरकप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि नवजागरण खेल मैदान, गैँडाकोट–९ मा सुरु हुँदैछ । देशका सातै प्रदेशका टोली र आयोजक टिम “मेयर इलेभेन” सहित ८ टोलीबीचको प्रतिस्पर्धाले आगामी पाँच दिनसम्म गैँडाकोटलाई क्रिकेटमय बनाउनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन आज बिहान १० बजे गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहपछि दिउँसो १२ः१५ बजे हुने पहिलो खेलमा आयोजक मेयर इलेभेन र कर्णाली प्रदेश आमनेसामने हुनेछन् । घरेलु मैदानमा उत्रिएको मेयर इलेभेनले समर्थकको साथमा विजयी सुरुवात गर्ने लक्ष्य लिएको छ भने कर्णाली प्रदेश पनि सशक्त प्रदर्शनमार्फत उपाधि यात्रालाई मजबुत बनाउने तयारीमा छ ।
फागुन २ गते बिहान १० बजे लुम्बिनी र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन दिउँसो १ बजे मधेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । फागुन ३ गते बिहान १० बजे सुदूरपश्चिम र कोशी प्रदेश आमने सामने हुनेछन् । सेमिफाइनल खेल फागुन ४ गते र फाइनल फागुन ५ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
गैँडाकोट नगरपालिकाको प्रवद्र्धन, वडा नं. ९ को विशेष सहयोग, नेपाल क्रिकेट संघ र गण्डकी प्रादेशिक क्रिकेट संघको समन्वय, नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा तथा नवलपुर जिल्ला क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै गैँडाकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल क्रिकेट संघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले मेयरकप स्थानीय प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर धामनाथ सापकोटाले प्रतियोगितालाई व्यवस्थित र स्तरिय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता सञ्चालनका लागि ५२ लाख २ हजार २ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ । “मेयरकपलाई निरन्तरता दिँदै गैँडाकोटलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” सापकोटाले भन्नुभयो, “यसले स्थानीय युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलकुद पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याउनेछ।”
प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र विकेटकिपरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सुरु भएसँगै गैँडाकोटमा खेलप्रेमीहरूको उत्साह बढेको छ र पाँच दिनसम्म चल्ने यस प्रतियोगिताले नगरलाई खेलकुदको उत्सवमा परिणत गर्ने अपेक्षा गरिएको छ ।