आज गैँडाकोट मेयर कपको फाइनल खेल :  लुम्बिनी र मधेश भिड्दै

२०८२ फाल्गुण ५ मंगलबार ०७:०९:०० मा प्रकाशित


नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल आज हुँदैछ । आजको फाइनल प्रतिष्पर्धामा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । 


गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा हिजो सोमबार सेमिफाइनलका खेल सम्पन्न भएका थिए ।


हिजो सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो यात्रा सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सफल भयो ।


सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश विरुद्ध मधेश प्रदेश तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेशले १८ दशमलव दुई ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
जिल्लाकै ठूलो धन राशिको पाँचौं गैँडाकोट टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।


त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ ।