नवलपुर १ मा चुनावी सरगर्मी बढ्यो, साझा एजेण्डा  पर्यटन सुधारमा प्रतिवद्धता 

२०८२ फाल्गुण ११ सोमबार ०८:१४:०० मा प्रकाशित


नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपरासी पूर्व क्षेत्र नं. १ मा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ । यस क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीबीच तीव्र प्रतिष्पर्धा रहेको छ । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीहरु पनि विगतको परिस्थितिबाट दललाई माथि उकास्न आफ्ना एजेण्डा लिएर घरदैलोमा व्यस्त रहेका छन् । स्वतन्त्र उम्मेदवार सहित १६ जना चुनावमा मत माग्न अहिले घरदैलोमा रहेका छन् । 

नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेले घरदैलोका क्रममा कालिगण्डकी एवम् नारायणी नदीमा जलमार्ग तथा पहाडी क्षेत्रमा पदमार्ग विकास गरी गैँडाकोट, देवचुली, कावासोती र बुलिङटारलाई पर्यटनले जोड्दै संस्कृतिको सम्बद्र्धनमा जोड दिने बताइरहनुभएको छ । घिमिरेले गण्डकी प्रदेशको हकमा नवलपुर जिल्लालाई थारु संरक्षित क्षेत्र घोषणा गर्न विशेष पहल गर्ने बताउनुभएको छ । जल पर्यटन, धार्मिक पर्यटन, साहासिक खेल पर्यटन, जल पर्यटन, ग्रामिण पर्यटनको सम्बर्धन गर्ने बताउनुभएको छ । 

नेकपा एमालेका उम्मेद्वार भागिरथ सापकोटाले आफू पर्यटन क्षेत्रमा नै काम गरिरहेको हुँदा नवलपुरको अर्थतन्त्र सुधारका लागि पर्यटनका क्षेत्रमा नीति र पूर्वधार विकासमा आवश्यक कामहरु गर्ने बताउनुभएको छ । एमालेका सापकोटाले देवघाट मौलाकालिका, मुकुन्दसेन दरबार, झेरिखण्डे, देवचुली डाँडा, बुलिङटारको घुमारीघाट धार्मिक पर्यटकीय पदमार्ग विकास गरी पर्यटक भित्राउने वातावरण बनाउने बताउनुभएको छ । घरदैलोमा रहनुभएका सापकोटाले पर्यटनमा सघाउ पु¥याइरहेका नारायणी तटको विकासमा जोड दिने बताउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजन गौतम पनि मत माग्न जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । उहाँले पनि घरदैलोका क्रममा पर्यटन सुधार र विकासका लागि काम गर्ने प्रतिवद्धता जनाइरहनुभएको छ । गौतमले पनि मौलाकालिका मन्दिर, मुकुन्दसेन दरबार, कैलाश सन्यास आश्रम, घुमाउरी घाट, टरुवा ताल लगायतका क्षेत्रलाई धार्मिक तथा पर्यटनको आकर्षणको केन्द्र बनाउने बताउनुभएको छ । उहाँले देवचुली डाँडालाई हाइकिङ गर्ने गन्तव्यको रुपमा विकास गरी हिल स्टेशन निर्माण गरिने बताउनुभएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार लोकप्रसाद भूर्तेल,  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार दीपकचन्द्र बस्ताकोटी, राष्ट्रिय जनमोर्चाका चन्द्रदत्त सापकोटा लगायतका उम्मेद्वारहरु पनि आफ्ना एजेण्डाका साथ घरदैलोका क्रममा रहेका छन् । प्रतिनिधि सभाको निर्वाचन आउन अब १० दिन मात्र बाँकी रहेको छ । यस निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार मतदाता रहेका छन् । 

 

रास्वपाका नेता राजन गौतम २०७९ को निर्वाचनमा पनि उम्मेद्वार रहनुभएको थियो । उहाँ नेपाली काँग्रेसका डा. शंशाकसँग पराजित हुनुभएको थियो । गौतमले यसपटक पुनः उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसका बालकृष्ण गौडेल, नेकपा एमालेका उम्मेद्वार भागिरथ सापकोटा भने पहिलो पटक निर्वाचनमा होमिएका छन् । २०७९ को निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा यस निर्वाचन क्षेत्रमा त्रिकोणात्मक प्रतिष्पर्धा रहेको देखिन्छ ।