चितवनमा लगाइएको एभोकाडोमा खटिराजन्य रोगको समस्या

२०८२ फाल्गुण ११ सोमबार १६:५३:०० मा प्रकाशित

चितवन । चितवन जिल्लामा लगाइएको एभोकाडो खेतीमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका एभोकाडो बगैँचामा उक्त रोगको सङ्क्रमण देखिएपछि नमुना परीक्षणका लागी पठाइएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

 

कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले चितवनमा पहिलो पटक यो रोग फैलिएको हो । यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । जीवाणु भने माटो र पानीबाट सर्ने गर्दछन् । यस्तो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बोटै मर्ने जस्तो समस्या आउने गर्दछ । यस्ता समस्या आउन नदिनका लागी बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्ने, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउनका साथै रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्नुपर्ने अधिकृत चौहानको सुझाव छ ।


जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोकाडो खेती गरिँदै आइएकोमा ५१ मेट्रिकटन उत्पादन हुँदै आएको छ ।