अन्तर्राष्ट्रिय खुशी दिवसमा बाल क्लब गैंडाकोट  ईङ्गलिस स्कुलद्वारा ज्येष्ठ नागरिकलाई भोजन

२०८२ चैत ६ शुक्रबार १७:०३:०० मा प्रकाशित

नवलपुर । गैंडाकोटको ‘क’ वर्गको विद्यालय गैंडाकोट ईङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा शुक्रबार देवघाटस्थित रोटरी करुणालयमा ज्येष्ठ नागरिकहरुलाई भोजन गराएको छ । बाल क्लब गैंडाकोट इङ्लिस स्कुलको आयोजनामा सम्पन्न कार्यक्रममा करिब १२० जना ज्येष्ठ नागरिकहरुलाई भोजन गराइएको +२ संयोजक जीवन दवाडीले जानकारी दिनुभयो ।


कार्यक्रममा विद्यालयका प्राचार्य हिरालाल अर्यालले बाल क्लबका विद्यार्थीहरुले यस्तो सामाजिक कार्य आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले एक छाक भए पनि ज्येष्ठ बुबाआमालाई भोजन गराउन पाउँदा आत्मिक सन्तुष्टि मिलेको बताउनुभयो। विगत ६ वर्षदेखि विद्यार्थीहरुले यस्ता सकारात्मक तथा मानवीय कार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यसले समाजमा राम्रो सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।


त्यस्तै, बाल क्लबका अध्यक्ष विवश भण्डारीले बुबाआमा जन्मदाता भएकाले उहाँहरूप्रति सम्मान स्वरूप अन्तर्राष्ट्रिय खुशी दिवसमा भोजन गराउने गरिएको बताउनुभयो। अनावश्यक खर्च गर्नुभन्दा जन्मदिन वा विशेष अवसरमा यस्ता सहयोगमूलक कार्य गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो। आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 


विद्यालयका अनुसार वडा नं. १ को बाल संरक्षण कोषमा १ लाखभन्दा बढी सहयोग गरिएको छ ।   
कार्यक्रममा +२ संयोजक जीवन दवाडी, एकेडेमिक डाइरेक्टर रेखा श्रेष्ठ लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।