मौलाकालि सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित १५ दिने सिपमूलक तालिम सम्पन्न

उत्पादित सामग्रीको बजारीकरणमा सरोकारवालाको जोड

२०८२ चैत ३० सोमबार १६:०७:०० मा प्रकाशित

गैँडाकोट। मौलाकालि सामुदायिक सिकाइ केन्द्र, गैँडाकोटको आयोजनामा सञ्चालन भएको १५ दिने सिपमूलक तालिम सम्पन्न भएको छ। उक्त तालिम गहुँको नलबाट हस्तकला सामग्री उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
सिकाइ केन्द्रका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता तथा नवलपरासी (ब.सु.पूर्व) शिक्षा इकाइ प्रमुख दीपेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २० जना सहभागीले तालिम प्राप्त गरेका थिए। तालिममा सहभागी शुभद्रा गुरुङ र मनिषा कुमालले उत्कृष्ट सामग्री उत्पादन गरेबापत पुरस्कार प्राप्त गर्नुभएको थियो।

गैँडाकोट नगरपालिकाका नौ वटै वडाबाट २/२ जनाको दरले सहभागी रहेको उक्त तालिममा बोल्दै वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमपछि उत्पादनमा सक्रिय भई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। उहाँले व्यवसायीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि दीपेन्द्रराज श्रेष्ठले यस्ता तालिमले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै सीपलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा जनक नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, महिला अधिकारकर्मी निशा पाटा, लाफा आमा समूहका अध्यक्ष गंगा राई मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षक गंग भण्डारीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । 

सिकाइ केन्द्रका कोषाध्यक्ष हिमालदेव पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सदस्य सचिव याममाया पुलामीले सहजीकरण गर्नुभएको थियो।