हावाहुरीको जोखिमः दशकमा सयले गुमाए ज्यान

२०८३ बैशाख १६ बुधबार १९:०२:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कूल एक हजार ५ सय १९ वटा हावाहुरीका घटना भएका छन् । उक्त अवधिमा हावाहुरीका कारण १ सय १ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै, एक हजार ५ सय ७२ जना घाइते भएका तथ्यांकमा उल्लेख छ । आठ हजार ५ सय ४ परिवार यस अवधिमा प्रभावित बनेका छन् ।

 

विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरूले बताएका छन्  । करिब ५३ करोड आर्थिक क्षति यस अवधिमा भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा भारी वर्षाका कारण १ सय १० जनाले र हिउँ-हुरीका कारण १७ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणको तथ्यांकअनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६ सय १६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १ सय ३९ जना घाइते भएका छन् । यस अवधिमा हावाहुरीका ४४ घटनाले ३ सय १९ परिवार प्रभावित भएका छन् र करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

 

त्यस्तै, जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । हावाहुरी सुरु हुने सम्भावित समय आज अपराह्न ४ः०० बजे र समाप्त हुने सम्भावित समय बिहीबार बिहान ६ः४५ रहेको विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना औँल्याइएको छ । 

 

हावाहुरीको सम्भावित प्रभावका कारण हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई सतर्कता अपनाउन पर्यटन विभागले आग्रह गरेको छ । विभागले मार्ग प्रयोग गर्ने क्रममा आरोही तथा सहयोगी टोलीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी बरफका ठूला ढिस्का (सेराक) खस्ने सम्भावना रहने क्षेत्रमा जोखिम उच्च रहने भएकाले सावधानी आवश्यक रहेको जनाइएको छ ।