श्री नेपाल राष्ट्रिय शमसेर आदर्श मा. वि.मा बालमैत्री असल संस्कार शिक्षा
नवलपरासी पूर्व । मौलाकाली सामुदायिक सिकाइ केन्द्र गैंडाकोटको आयोजनामा मंगलबार श्री नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयमा बालमैत्री असल संस्कार कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूलाई असल संस्कार शिक्षा प्रदान गरिएको मौलाकाली सामुदायिक सिकाइ केन्द्र गैंडाकोटका अध्यक्ष कमलप्रसाद पराजुलीले बताउनुभएको छ ।
गैँडाकोट नगरपालिका शिक्षा शाखाको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले अहिलेको प्रविधि उन्मुख समाजमा असल संस्कार अपरिहार्य रहेको बताउनुभएको छ ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले असल बन्न सकेमात्र सफल हुन सकिने भएकाले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।
गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बालबालिकाहरूको कस्ता कस्ता असल व्यवहारले सफल बन्न सकिन्छ भन्ने सन्दर्भमा विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार श्रीधर उपाध्यायले बालमैत्री असल संस्कार शिक्षाका सन्दर्भमा दिनभर बालबालिकाको दैनिकी कसरी असल र व्यवस्थित बनाउन सकिन्छ भन्नेबारे विद्यार्थीलाई प्रेरणादायी कक्षा दिनुभएको थियो ।
कार्यक्रममा ८० जना भन्दा बढी विद्यार्थी सहभागि रहेका थिए । विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई, सहायक प्रधानाध्यापक कृष्णराज भट्टराइ लगायत शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा मौलाकाली सामुदायिक सिकाइ केन्द्रका सदस्य हर्कबहादुर भूजेलले स्वागत गर्नुभएको थियो भने केन्द्रका सदस्य सचिव यममाया पुलामीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
.jpg)
मौलाकाली सामुदायिक सिकाइ केन्द्रले शैक्षिक जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । केन्द्रले बुधबार जनक नमुना माविका विद्यार्थीहरुलाई बालमैत्री असल संस्कार शिक्षा प्रदान गर्ने अध्यक्ष कमलप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।