दशौँ राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटमा नवलपुरको ऐतिहासिक सफलता ः ११ पदकसहित टिम च्याम्पियन
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालामा मंसिर ३ देखि ५ गतेसम्म सम्पन्न गण्डकी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा नवलपुर जिल्ला टिमले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा नवलपुरले ५ स्वर्ण, ५ रजत र १ कांस्य गरी कुल ११ पदक जित्दै गण्डकी प्रदेशमा टिम प्रथम स्थान हासिल गर्न सफल भएको हो।
.jpg)
नवलपुर जिल्ला तेक्वान्दो संघको स्थापना र जिल्लामा तेक्वान्दो खेलको संस्थागत विकासयताकै प्रदेशस्तरीय प्रतियोगितामा प्राप्त यो सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको छ। यस सफलताले नवलपुरलाई गण्डकी प्रदेशकै उत्कृष्ट तेक्वान्दो प्रतिस्पर्धी जिल्लाका रूपमा स्थापित गरेको छ। प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा नवलपुरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण र रजत पदकमा वर्चस्व कायम गरेका छन्। पदक विजेता खेलाडीहरूमाः महिलातर्फः १. हुमकला बाह्रघरे – ४९ केजी – प्रथम, विन्दु सिंह ठकुरी – ४६ केजी – द्वितीय, आकृति थनेत – ६७ केजी – द्वितीय, सुस्मिता कुमाल – ५३ केजी – तृतीय र पुरुषतर्फः हरिबहादुर परियार – ६८ केजी – प्रथम, मनिष महतो – ७४ केजी – प्रथम, सुचित पाण्डे – ८० केजी – प्रथम, सन्देश वि.क. – ८७ केजी – प्रथम, मौसम गुरुङ – ५४ केजी – द्वितीय, आदित्य खण्डलुक मगर – ५८ केजी – द्वितीय, राजवीर गुरुङ – ८७ केजी माथि – द्वितीय भएका छन् ।
नवलपुरको यो सफलता खेलाडीहरूको व्यक्तिगत मेहनत र प्रतिभाको परिणाम मात्र नभई प्रशिक्षकहरूको निरन्तर प्रशिक्षण, अभिभावकको सहयोग, खेलकुदप्रतिको समर्पण र नवलपुर जिल्ला तेक्वान्दो संघको योजनाबद्ध संस्थागत प्रयासको प्रतिफलसमेत हो। नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा संस्थापक अध्यक्ष राजु भुसालको नेतृत्वमा जिल्लाभित्र तेक्वान्दो खेलको विस्तार, नयाँ डोजाङ स्थापना, खेलाडी उत्पादन, नियमित ग्रेडिङ, प्रशिक्षक तथा रेफ्री विकास र प्रतियोगिता सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाइएको छ। जिल्लामा तेक्वान्दो खेलको आधार विस्तार गर्ने यही निरन्तर प्रयासले आज प्रदेशस्तरमा ऐतिहासिक नतिजा प्राप्त गर्न सहयोग पु¥याएको छ।
प्रतियोगितामा सहभागी हुन पोखरा प्रस्थान गर्नुअघि खेलाडीहरूलाई गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। नगरपालिकाबाट प्राप्त यस प्रकारको हौसला र प्रोत्साहनले खेलाडीहरूमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाएको थियो। प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्राप्त यस सफलताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुरको सम्भावना र आत्मविश्वास थप बलियो बनाएको छ। छनोट भएका खेलाडीहरूले राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम उच्च राख्ने अपेक्षा गरिएको छ ।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुसालले यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण पदक विजेता खेलाडी, प्रशिक्षक, अभिभावक, डोजाङ प्रमुख, सहयोगी स्थानीय तह तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नवलपुरलाई राष्ट्रियस्तरमै तेक्वान्दो खेलको उत्कृष्ट जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ५ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन बनेकोमा नवलपुरको यो उपलब्धि जिल्लाको खेलकुद इतिहासमा गर्विलो अध्याय भएको भुषालले बताउनु भएको छ ।