गैंडाकोटमा गणित विषयको एक दिवसीय प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

२०८३ बैशाख २८ सोमबार १५:५६:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकास्थित सामुदायिक विद्यालयका कक्षा ६ देखि १० तर्फका गणित विषय शिक्षकका लागि आयोजित एक दिवसीय प्रश्नपत्र निर्माण कार्यशाला एवं अभिमुखीकरण कार्यक्रम जनक नमुना माध्यमिक विद्यालयको सभाहलमा आइतबार सम्पन्न भएको छ । सो कार्यक्रम  गैंडाकोट नगर स्तरीय सामुदायिक विद्यालय परीक्षा समितिको आयोजना एवं एलाइड पब्लिकेशन प्रा.लि काठमाण्डौंको प्रायोजनमा सम्पन्न भएको हो । कार्यक्रमको सह आयोजकको रुपमा जनक नमुना माध्यमिक विद्यालय रहेको थियो ।

 


सो कार्यशालामा गैंडाकोट नगरपालिकाका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यापन गर्ने ५० जना गणित शिक्षकहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो । कार्यशालामा सहभागी गणित विषय शिक्षकहरुलाई पाठ्यक्रम विकास केन्द्रका गणित विषयका लेखक एवं प्रशिक्षक तथा काठमाण्डौं महा नगरपालिकाका स्रोत शिक्षक सुशिल खनालले प्रश्पत्र निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । 


कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव खेमप्रसाद आचार्यले गणित विषयलाई सरल र सहज बनाउनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने कुरा व्यक्त गर्नुभयो । साथै, उहाँले प्रश्नपत्र निर्माण गर्दा शिक्षकहरु गम्भिर भएर पाठ्यक्रम र विशिष्टीकरण तालिकाको पूर्ण प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

शिक्षा अधिकृत रामप्रसाद अधिकारीले गणित विषय शिक्षण गर्दा आउने समस्याहरुका बारेमा उजागर गर्दै समाधानका लागि शिक्षक हर क्षण तयारी अवस्थामा रहनुपर्ने कुरामा जोड दिनुभयो ।


परीक्षा समितिका सल्लाहकार एवं जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा परीक्षा समितिका अर्थ सचिव एवं गैंडाकोट नगरपालिका गणित विषय संयोजक टकनारायण रानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो । 


कार्यक्रममा प्रयोजक संस्थाको तर्फबाट एलाईड पब्लिकेशन प्रा.लिका सञ्चालक डिलराज डुम्रेले शुभकामन मन्तव्य एवं सहभागीको तर्फबाट कालिका नमुना माध्यमिक विद्यालयका शिक्षक सृजना अधिकारीले अनुभव मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गैंडाकोट नगर स्तरीय सामुदायिक विद्यालय परीक्षा समितिका अध्यक्ष एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यशालाको सहजीकरण परीक्षा समितिका सचिव एवं जनक नमुना माध्यमिक विद्यालयका शिक्षक विष्णुप्रसाद रिजालले सहजीकरण गर्नुभएको थियो ।