सहकारी सचिवहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८३ जेठ १ शुक्रबार १९:०६:०० मा प्रकाशित

कावासोती । जिल्ला सहकारी संघ लिमिटेड, नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा प्रारम्भिक सहकारी संस्थाहरूका सचिवहरूका लागि आयोजित “सचिवको काम, कर्तव्य र अधिकार“ विषयक एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कावासोती स्थित कालिगण्डकी साकोसको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न ३९ वटा सहकारीका सचिवहरूको  उत्साहजनक उपस्थिति रहेको थियो। “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता“ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले सहकारी क्षेत्रमा संस्थागत सुशासन र व्यावसायिकता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि. शिक्षा उपसमिति संयोजक तुलमणि पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला सहकारी संघ लि. का अध्यक्ष तिलक प्रसाद पराजुली रहनुभएको थियो।

कार्यक्रममा अतिथिहरूका रूपमा जिल्लाका विभिन्न विषयगत सहकारी संघका नेतृत्वहरूको उपस्थिति रहेको थियोः

बद्रीनाथ नेपालः अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
 देवकी कुमारी भण्डारीः अध्यक्ष, जिल्ला कृषि सहकारी संघ लि.
धर्मा न्यौपानेः अध्यक्ष, जिल्ला उद्यमी महिला सहकारी संघ लि.
 सीता गैह्रेः उपाध्यक्ष, जिल्ला दुग्ध सहकारी संघ लि.
 वेगराज न्यौपानेः अध्यक्ष, सहकारी कर्मचारी समाज, नवलपरासी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलक प्रसाद पराजुलीले सहकारीको मेरुदण्ड मानिने सचिवहरूले आफ्नो जिम्मेवारी बुझे मात्र संस्थाले सही गति लिने बताउनुभयो। उहाँले यस्ता प्रशिक्षणले पदाधिकारीहरूको क्षमता अभिवृद्धि भई समग्र सहकारी आन्दोलनलाई थप मर्यादित बनाउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल सरकारले हालै ल्याएको सहकारी अध्यादेशका कतिपय बुँदाहरूमा असहमति जनाउँदै, सरकारले सहकारी क्षेत्रका सरोकारवालाहरूको सुझाव र धारणा सुन्नुपर्नेमा जोड दिनु भयो। कार्यक्रममा सीता गैह्रे, देवकी कुमारी भण्डारी, बद्रीनाथ नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रशिक्षण तथा सहजीकरण

राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त कार्यक्रमको प्राविधिक सत्रमा तिलक प्रसाद पराजुली र तुलमणि पौडेलले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको पूर्ण सहजीकरण भने श्याम सुन्दर लामिछानेले गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा सहभागी सचिवहरूले सहकारी सञ्चालनका क्रममा भोग्नुपरेका व्यवहारिक कठिनाइ र कानुनी अन्यौलताका बारेमा जिज्ञासा राखेका थिए। प्रशिक्षणले सचिवको भूमिकालाई अझ प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।