बुलिङटारमा सडक सुरक्षा सुदृढः पाँच स्थानमा सिसी क्यामेरा जडान

२०८३ जेठ ५ मंगलबार १८:५३:०० मा प्रकाशित

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाभित्र पर्ने कालिगण्डकी करिडोरका विभिन्न महत्त्वपूर्ण क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । “प्रविधिसँगै सुरक्षित बुलिङटार, व्यवस्थित यातायात र शान्त समाज निर्माणतर्फ हाम्रो साझा प्रयास” भन्ने मूल नारासहित सडक सुरक्षा, यातायात व्यवस्थापन तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

पालिका अगाडि, प्रहरी चौकी अगाडि, कोखे, सिंगुवा लगायतका स्थानमा जडान गरिएका सिसी क्यामेराको मोनिटरिङ युनिट बुलिङटार प्रहरी चौकीमा राखिएको छ । गाउँपालिकाका अनुसार यस प्रविधिमैत्री पहलले सार्वजनिक सुरक्षा अभिवृद्धि, सडक दुर्घटना न्यूनीकरण, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

साथै आगामी आर्थिक वर्षमा कालिगण्डकी करिडोर अन्तर्गतका अन्य वडा तथा क्षेत्रहरूमा समेत सिसी क्यामेरा कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै शान्ति सुरक्षा र सडक सुरक्षालाई अझ प्रभावकारी ढंगले व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।