अक्सफोर्ड मा. वि मा नवप्रवेशी विद्यार्थी तथा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८३ जेठ २७ बुधबार १९:४५:०० मा प्रकाशित

गैँडाकोट । गैंडाकोट २ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थी तथा  अभिभावकहरूलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालयका प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विभिन्न विभागका प्रमुख एवं प्रशासनिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा +२ विज्ञान विभाग प्रमुख जगतबहादुर बानियाँले कक्षा ११ को शैक्षिक योजना, मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलाप, आचारसंहिता तथा अध्ययन–अध्यापन प्रक्रियासम्बन्धी जानकारी दिनुभयो ।


त्यसैगरी, प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीले विद्यालयको २६ वर्षे गौरवमय शैक्षिक यात्राको स्मरण गर्दै शिक्षा क्षेत्रमा पु¥याएको योगदान, प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि तथा भावी योजनाबारे जानकारी दिनुभयो । उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध बन्न आग्रह गर्नुभयो।

 

नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्रतिनिधि विद्यार्थीले आफ्ना अनुभव तथा अपेक्षा व्यक्त गरेका थिए भने अभिभावक प्रतिनिधिहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए ।


सहभागी अभिभावक तथा विद्यार्थीहरूले कार्यक्रम जानकारीमूलक, प्रेरणादायी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । समापन कार्यक्रममा उप-प्रधानाध्यापक कृष्णहरि पौडेलले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग परिचित गराउनुका साथै आगामी शैक्षिक यात्राका लागि आवश्यक आत्मविश्वास र प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

 
+२ व्यवस्थापन विभाग प्रमुख हरिप्रसाद थपलियाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण विद्यालयका उप-प्रधानाध्यापक कृष्णहरि पौडेलले गर्नुभएको थियो ।