एसईईमा ९८.३३ प्रतिशत नतिजासहित गैँडाकोट इङ्ग्लिस स्कुल नवलपुरमै उत्कृष्ट

२०८३ जेठ ३१ आइतबार १७:१९:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोट इङ्ग्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै नवलपुर जिल्लामै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। सार्वजनिक नतिजाअनुसार विद्यालयले ९८.३३ प्रतिशत उत्तीर्ण दर कायम गर्दै जिल्लाभरिकै उच्च सफलता हासिल गरेको हो ।

 

उक्त उपलब्धिको कदर गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले विद्यालयलाई प्रशंसापत्रसहित सम्मान गरेको छ। सोही अवसरमा परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने मेहनती तथा जेहेन्दार विद्यार्थीहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य हिरालाल अर्यालले यस सफलतालाई विद्यालय परिवारको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरूको कडा परिश्रम, शिक्षक-शिक्षिकाहरूको समर्पित मार्गदर्शन, निरन्तरको मेहनत तथा अभिभावकहरूको अटुट विश्वासका कारण विद्यालयले यो ऐतिहासिक सफलता हासिल गर्न सकेको हो ।

 

नवलपुर जिल्लामै सर्वाधिक उत्तीर्ण प्रतिशतसहित प्याब्सनबाट सम्मानित हुन पाउनु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर, अनुशासन तथा संस्कारयुक्त शिक्षालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।