गैँडाकोटमा मनसुनजन्य विपद् सम्बन्धी सिमुलेशन अभ्यास

समुदायक विपत स्वयंसेवक तालिम कार्यक्रम समापन

२०८३ असार ४ बिहीबार १९:२८:०० मा प्रकाशित

गैँडाकोट । मनसुनजन्य विपद् सम्बन्धी सिमुलेशन अभ्यास तथा समुदायक विपत स्वयंसेवक तालिम कार्यक्रम समापन भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वाटर पूर्वी नवलपरासीको आयोजनामा गैंडाकोट २ स्थित नारायणी नदी किनारमा भएको कार्यक्रम गैडाकोट नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन भएको हो ।

बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न गैडाकोटमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीले ५२ जनालाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक बनाएको हो ।तालिम १८ दिन सम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

जिल्ला प्रशासन कार्यलय नवलपरासी (बर्दघाट सू.पूर्व) का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले मनसुनजन्य विपद्का घटनामा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सचेतना र स्वयंसेवक परिचालनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै गैडाकोट नगरपालिकाका विभिन्न वडाका ५२ जनालाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक तयार पारिएको गैडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोईरालाले बताउनुभयो । उहाँले स्थानीय तह र वडा स्तरमा विपद् स्वयंसेवक तयार पार्ने नीति अनुसार तालिम प्रदान गरिएको उपप्रमुख कोईरालाले बताउनुभयो ।

तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धी जानकारी, मेडिकल फस्र्ट रेस्पोण्डर अर्थात् विपद् स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचारसम्बन्धी सीप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले बताउनुभयो ।

समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताउनुभयो ।

निकट भविष्यमा नदी तटीय क्षेत्रहरुमा घट्न सक्ने मनसुनजन्य विपद्का घटना र  जोखिमलाई रोकथाम तथा न्यूनिकरण गर्ने उद्धेश्यसहित सशस्त्र प्रहरी–बल नेपाल, अन्य सुरक्षा निकायहरु लगायत सरोकारवाला निकायहरु माझ  विपद्को पूर्वतयारीको लागि संयुक्त विपद् प्रतिकार्य सिमुलेशन अभ्यास संचालन गरिएको बताइएको छ।

अभ्यास अन्र्तगत सशस्त्र प्रहरी–बल नेपाल र अन्य सुरक्षा निकायहरुले संयुक्त रुपमा तिव्र बहावयुक्त नदीहरुमा गरिने खोज तथा उद्धार, High Line Rope Rescue, Under Water River Rescue, स्थानीय स्रोत साधनबाट तयार गर्न सकिने उद्धार सामाग्रीहरुको प्रयोगको प्रदर्शनी, विपद्पश्चात् पीडितहरुलाई उपलब्ध गराउने राहत तथा पुनःनिर्माण लगायतका विविध पक्षहरुमा अभ्यास संचालन गरिएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द् लामगादे,जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सू.पूर्व) का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख उप अनुसन्धान निर्देशक अभिनय कुमार सिंह, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पुरी,  सुरक्षा निकायका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायत समाजसेवी बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।