विजय एफएमका स्टेशन म्यानेजर क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित
नवलपरासी । सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार उपाध्याय सम्मानित हुनुभएको हो । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चाँैथो वार्षिक साधारण सभाको अवसरमा पत्रकार उपाध्यायलाई सम्मान गरिएको जिल्ला शाखा अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएका पत्रकार उपाध्यायको पत्रकारिता २०६९ सालमा काठमाण्डौँबाट सुरु भएको थियो । नवलपुरमा भने सामुदायिक रेडियो विजय एफएम १०१.६ मा वि.सं. २०७१ सालबाट पत्रकारिताको थालनी गर्नुभएको थियो । अहिले विजय एफएमसँगै शैक्षिक अनलाइन एडुश्री डटकमको सञ्चालन र शिक्षा क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौँथो वार्षिक साधारण सभामा “स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३” बाट पत्रकार धनू भूषाल सम्मानित हनुभएको छ । पत्रकार भूषालले नेपाल टेलिभिजनको जिल्ला संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।
महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार यस वर्ष भुसाललाई प्रदान गरिएको हो । महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार पुरस्कारमा ५ हजार ५ सय ५५ रुपैयाँ नगद, दोसल्ला र ताम्रपत्र प्रदान गरिएको छ ।
त्यसैगरी, महासंघमा स्थापना गरिएको भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पत्रकार बोमलाल गिरी सम्मानित हुनुभएको छ । नवलपुरमा रहेर पत्रकारिता गर्दै आएका गिरीलाई प्रदान गरिएको उक्त पुरस्कार युवा उद्यमी तथा पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको नाममा स्थापना गर्नुभएको हो ।

यस्तै, नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई सम्मान गरिएको छ । पराजुली २०५६ सालदेखि नवलपुर तथा साविक नवलपरासी क्षेत्रमा विभिन्न सञ्चारमाध्यममार्फत सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका छन् ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने लगायतका कार्यमार्फत प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य केबी राना, प्रदेश अध्यक्ष रमेश पौडेल, प्रदेश संस्थापक अध्यक्ष नारायण शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय, निवर्तमान अध्यक्ष विरेन्द्र पराजुली, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष तीर्थ डुम्रे तथा प्रेस संगठन नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन, सचिवको संगठनात्मक प्रतिवेदन तथा अध्यक्षको प्रतिवेदन सभाबाट अनुमोदन गरिएको महासंघका सचिव आशिष रेग्मीले जानकारी दिनुभयो ।