भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समितिको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न
अध्यक्षमा पुनः वेद प्रसाद गौडेल
गैंडाकोट । भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समिति, गैंडाकोट–१, धारापानी, नवलपुरको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।समितिका अध्यक्ष बेदप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैंडाकोट नगरपालिका–१ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रेग्मीले भगवान वराह मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको महत्वपूर्ण सम्पदा भएकाले यसको विकासमा वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रारम्भमा समितिका उपाध्यक्ष राम बहादुर सापकोटाले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा भक्तजनलाई स्वागत मन्तव्य व्यक्त गर्दै मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक योगदानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यसपछि समितिका सचिव परमानन्द चालिसेले कार्यक्रम सञ्चालन गर्दै वार्षिक गतिविधि, आगामी योजना तथा अधिवेशनका विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोट ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ती न्यौपाने, समाजसेवी एवं पूर्ब गा।वि।स उपाध्यक्ष टोलनाथ घिमिरे, समाजसेवी एवं धार्मिक ब्यक्तित्वहरु, समितिका पदाधिकारी, आजीवन सदस्य, स्थानीय बुद्धिजीवी, टोल विकास संस्थाका प्रतिनिधिहरु, भक्तजन तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारण सभामा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी आवश्यक सुझावहरू प्रस्तुत गरिएको थियो । समितिका कोषाध्यक्ष ढगेन्द्र राज सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा लेखा समिति संयोजक गजेन्द्र लम्सालले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । सहभागीहरूले मन्दिरको संरक्षण, धार्मिक पर्यटनको प्रवद्र्धन तथा संस्थागत विकासका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
अन्त्यमा सभापति बेदप्रसाद गौडेलले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै मन्दिरको समग्र विकास, संरक्षण र व्यवस्थापनमा सबैको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा समितिले अझ प्रभावकारी ढंगले धार्मिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै शनिबार नै अधिवेशनले नयाँ समितिमा पुनः वेद प्रसाद गौडेलको अध्यक्ष्तामा नयाँ समिति चयन गरेको छ । जसमा धेरै पुरानै समितिलाई नै निरन्तरता दिएको छ । उपाध्यक्षमा राम बहादुर सापकोटा, सचिवमा परमानन्द चालिसे, कोषाध्यक्षमा ढगेन्द्र राज सापकोटा, सहसचिवमा शक्ति प्रसाद कंडेल, सहकोषाध्यक्षमा छविलाल चापागाई निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रेम बहादुर अधिकारी, सीता भट्टराई, नेत्रलाल श्रेष्ठ, शिला दवाडी, बसन्ती ढुङ्गाना, रुद्र प्रसाद आचार्य, फुलकुमारी ढकाल सीता निर्वाचित हुनु भएको छ । लेखा समितिको संयोजकमा यम नारायण चालिसे, सदस्यहरुमा पार्बती ढकाल र धनकुमारी खत्री निर्वाचित हुनु भएको छ ।
गोविन्द सुवेदीको संयोजकत्वमा बनेको ३ सदस्यीय निर्वाचन मण्डलमा खेम पसाद आचार्य र हरिराम सापकोटा सदस्यको रुपमा हुनुहुन्थ्यो । सर्बसम्बत रुपमा नयाँ समिति बनाईएको निर्वाचन मण्डलले जनाएको छ ।