नारायणी सामुदायिक वन उपभोक्ता समूह राष्ट्रियस्तरको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत
गैंडाकोट । वन संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गैंडाकोटको नारायणी सामुदायिक वन उपभोक्ता समूह राष्ट्रियस्तरको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदान गरिएको उक्त पुरस्कार सामुदायिक वन दिवस २०८३ को अवसरमा सोमबार ललितपुरस्थित प्रकृति संरक्षण कोषमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नारायणी सामुदायिक वनका प्रतिनिधिलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो।
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभागको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नारायणी सामुदायिक वनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार ग्रहण गर्दै समूहका अध्यक्ष नेत्रराज सापकोटाले राष्ट्रियस्तरको पुरस्कारले नारायणी सामुदायिक वनका उपभोक्ता र पदाधिकारीमा थप उत्साह र जिम्मेवारी बढाएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ व्यवस्थित र समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पुरस्कारले हामीलाई खुसीसँगै थप जिम्मेवार बनाएको छ उहाँले भन्नुभयो।
समूहको उपाध्यक्ष धनपति सापकोटाले आगामी दिनमा वनको संरक्षण र दिगो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै वनबाट समुदायले पाउने लाभलाई थप व्यवस्थित गर्ने हाम्रो प्रयास रहने बताउनुभयो ।
समूहको सचिव सीता गिरीले वन जोगाउँदा वातावरण मात्र जोगिँदैन, यससँग जोडिएको समुदायको जीवन र भविष्य पनि सुरक्षित हुन्छ भन्ने मान्यताका साथ हामीले काम गर्दै आएको बताउनुभयो । उहाँले पुरस्कार प्राप्त हुनुका पछाडि उपभोक्ताको निरन्तर सहभागिता, समूहका पदाधिकारी तथा कर्मचारीको मेहनत र सरोकारवाला निकायको सहयोग रहेको उल्लेख गर्नुभयो ।
कार्यालय सचिव हरि सापकोटाले वन संरक्षण र व्यवस्थापनमा उपभोक्ता, स्थानीय समुदाय तथा समूहका पदाधिकारीहरूको निरन्तर मेहनतको परिणामस्वरूप पुरस्कार प्राप्त गर्न सफल भएको बताउनुभयो। “हामीले वनलाई केवल काठ र दाउराको स्रोतका रूपमा नभई समुदायको साझा सम्पत्तिका रूपमा संरक्षण र व्यवस्थापन गर्दै आएका छौँ, सापकोटाले भन्नुभयो, ।
सामुदायिक वन व्यवस्थापनका उत्कृष्ट अभ्यासको संरक्षण तथा प्रवर्द्धनमा यस पुरस्कारले थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

