नारायणीमा बाढी बढ्दो, गण्डक ब्यारेजका सबै ढोका खोलिए
भरतपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ बजे नारायणी नदीको पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ। केन्द्रका अनुसार देवघाटमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ भने ७ दशमलव ३ मिटरलाई चेतावनीको तह मानिन्छ।
नदीले शुक्रबार राति नै चेतावनीको तह पार गरेको जलमापन केन्द्रले जनाएको छ। पानीको बहाव बढ्दो क्रममा रहेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का नारायणी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए।
उनका अनुसार गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा छन्। जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्ने, स्थानीयलाई सुरक्षित स्थानमा सार्नेलगायतका काम भइरहेको छ।
यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिरोको जोखिममा रहेकाले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ। सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।
यसैबीच, नवलपुरको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खुला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि शुक्रबार रातिदेखि नै ब्यारेजका सबै ढोका खोलिएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले जानकारी दिए।
उनका अनुसार हाल गण्डक ब्यारेजमा पानीको बहाव करिब ३ लाख ४०० क्युसेक पुगेको छ। ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिन्छ। बाढी बढेपछि नेपाल र भारततर्फ जाने दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको जनाइएको छ। ब्यारेजको माथिल्लो पानीको सतह ३५९ दशमलव २ फिट र तल्लो सतह ३५७ दशमलव ६ फिट पुगेको पालले बताए।
नारायणीमा पानीको बहाव बढेसँगै सुस्ताको केही भूभाग डुबानमा परेको र प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।