देवघाटमा ‘परमानन्द काव्य सरिता’को चौधौँ ऋखला हुदैँ 

२०७९ पौष ३० शनिबार ११:१८:०० मा प्रकाशित

देवघाट ।

साहित्य संगीत र कलाको त्रिवेणी परमानन्द काव्य सरिता चौधौँ ऋखला भव्य रूपमा हुदैँ छ । 
राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीजी महाराजको वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा यही आज साझँ साढे सात बजेबाट श्री परमानन्द संस्कृत छात्र कल्याण परिषद्ले काव्य सरिता चौधौँ ऋखला आयोजना गर्ने भएको हो । 


साहित्य संगीत र कलाको त्रिवेणी परमानन्द काव्य सरिता (चौधौँ ऋखला) सभ्य एवं भव्य रूपमा आयोजना हुने श्री हरिहर सन्यास आश्रमका सचिव मुक्तानन्द सरस्वती जी महाराजले बताउनुभयो । 


हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख संरक्षकत्व एवम् वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त स्रष्टाहरू, काव्य साधनामा तल्लीन गुरुकुलका छात्रहरू तथा साहित्यानुरागी महानुभावहरूको समेत सहभागिता रहनेछ । 
खास गरी छन्द कविता रुचाउने व्यक्तिहरूलाई उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको कुरा कार्यक्रमका संयोजक गोविन्द गोपाल खतिवडाले बताउनुभयो । 


उक्त कार्यक्रममा राष्ट्रिय भजन–गायक तथा कवि, श्री परमानन्द संस्कृत छात्र परिषदका अध्यक्ष हीरालाल कण्डेलद्वारा राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजको जीवनीमा आधारित रही लेखिएको महाकाव्यको विमोचनको कार्यक्रम समेत रहेको परिषद्का सचिव दिनेश भण्डारीले बताउनुभयो । 
त्यसैगरी माघ १ गते माघ कृष्ण अष्टमीका दिन ब्रह्मलीन स्वामीज्यू महाराजको वार्षिक पुण्यतिथिमा बृहत् गुरु भण्डाराको आयोजना गरिएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आमन्त्रण गरिएको कुरा श्री हरिहर सन्यास आश्रमका सचिव मुक्तानन्द सरस्वती जी महाराजले बताउनुभयो ।