भुजेल गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा प्रदान

२०७९ माघ १० मंगलबार १६:४४:०० मा प्रकाशित

गैँडाकोट । सामुदायिक सेवा केन्द्र गैँडाकोटले गैँडाकोट ३ भुजेल गाउँ स्थित जुना प्रारम्भिक बाल विकासका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा प्रदान गरेको छ । 

विद्यार्थीलाई पठन पाठनमा सहज होस् भन्ने हेतुले उक्त सामग्री प्रदान गरिएको केन्द्रका अध्यक्ष कमला गुरुङले जानकारी दिनुभयो । शैक्षिक सामग्री अन्तर्गत ६ महिनासम्म पुग्ने कपि कलम र न्यानो कपडा अन्तर्गत ज्याकेट प्रदान गरिएको केन्द्रका सचिव रमेश ढकालले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक मानबहादुर रानाभाटले प्रदान गरिएका सामग्रीले बालबालिकालाई अध्ययनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

बाल केन्द्रमा हाल ३४ जना अध्ययनरत रहेको शिक्षिका पूर्णमाया भुजेलले बताउनुभयो । यहाँ अधिकांश भुजेल समुदायका बालबालिका अध्ययनरत छन् ।