गैँडाकोटमा प्रथम कविता तथा चित्रकाला प्रतियोगिता सम्पन्न

२०७९ माघ १२ बिहीबार १९:२६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रथम कविता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  कविता प्रतियोगितामा प्रथम अन्जान प्रदिप प्रथम भइ १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै निमा पौडेल तिवारी द्धितिय हुनुभयो उहाँले १२ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । टंकराज ढकाल तृतिय हुँदै ८ हजार र शर्मिला सापकोटाले सान्तवना हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गर्नुभएको हो । कविता प्रतियोगितामा १५ जनाको कविता वाचनका लागि छनौट भएको थियो । 
यस्तै चित्रकला प्रतियोगितामा दामोदर बराल प्रथम हुनुभएको छ । त्यस्तै बरुणबाबु घिमिरे द्धितिय, शुसिल गुरुङ तृतिय हुनुभएको छ भने तिर्थराज पाण्डे र प्रमेश कंडेललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । उहाँहरुलाई पनि प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १२ हजार, तृतिय पुरस्कार ८ हजार र सानत्वना पुरस्कार ५ हजार प्रदान गरिएको जनाइएको छ ।  
कविता प्रतियोगिताका निर्णायकमा प्राध्यापक कपिल अज्ञात, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाई, त्रिवेणी साहित्य प्रतिष्ठानको कार्यबाहक अध्यक्ष इन्द्रराज पौडेल रहनुभएको थियो । भने चित्रकला प्रतियोगितको निर्णायकमा चित्रकार रामहरी श्रेष्ठ र चित्रकार प्रकाश थापा रहनुभएको थियो । 
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आफ्नो संस्कृतिलाई जोगाउन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आफुभित्र लुकेर बसेको प्रतिभा एवं कलालाई बाहिर ल्याउन र संरक्षण गर्नुपर्ने बताउनुभयो । यसकालागि नगरपालिकाले सक्दो सहयोग गर्ने उहाँको भनाई छ । 
गैँडाकोट नगरपालिकाका उप–प्रमुख शान्ती कोइरालाले सबैमा फरक–फरक कला एवं प्रतिभाहरु रहेको बताउनुभयो । लुकेका कला एवं प्रतिभालाई उजागर गर्नका लागि विभिन्न समयमा यस्ता प्रतियोगिताहरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कवि एवं चित्रकार गोविन्दराज विनोदीले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान स्थापना भएपछिको यो प्रथम कविता तथा चित्रकाला प्रतियोगिता रहेको बताउनुभयो । उहाँले आफ्नो ठाउँमा रहेको हरेककलाई संस्कृतिलाई संरक्षण गर्नको लागि यसको स्थापना गरेको बताउनुभयो । साथै आगामी दिनमा विद्यालयहरुमा पनि यस्ता प्रतियोगिताहरु राख्ने योजना रहेको बताउनुभयो । 
गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं चित्रकार भिम शर्माले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।