समाज जोगाउन रेडियो जोगाउनुपर्दछ

२०७९ फाल्गुण २ मंगलबार १३:४१:०० मा प्रकाशित


सोमबार विश्व रेडियो दिवस मनाइयो । सन् १९२० को दशकमा अमेरिका र बेलायतमा औपचारिक रुपमा रेडियो प्रसारण सुरु भयो । नेपालमा भने वि.सं. २००७ सालबाट औपचारिक रुपमा रेडियोको सुरुवात भएको मानिन्छ । हामीसंग रेडियोको ७२ वर्षको इतिहास छ । विगतको इतिहासलाई मध्यनजर गरेर हेर्दा पनि रेडियो हाम्रो जस्तो देशका लागि प्रभावकारी सञ्चार माध्यमको रुपमा देखा पर्दछ । हाम्रो जस्तो भौगोलिक विविधता भएको देशमा सहज पहुँचको माध्यम रेडियो हो । सामाजिक विविधतालाई प्राथमिकता सहित उजागर गर्न रेडियो नै प्रभावकारी माध्यमका रुपमा रहँदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि रेडियोलाई प्रभावकारी माध्यमका रुपमा प्रयोग गरिएको इतिहास छँदै छ ।  बहुदलीय प्रजातन्त्र होस् या संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनचेतना निर्माणको सन्दर्भमा रेडियोको भूमिका प्रशंसाय योग्य नै रहेको छ । निर्वाचनका समयमा छिटो र छरितो सूचना प्रवाहको माध्यम मात्र नभएर भुकम्प, बाढी पहिरो लगायतका दैविक विपत्तीका सन्दर्भमा पनि रेडियो प्रभावकारी माध्यम बनेको विभिन्न अध्ययनले देखाएको छ । यसका साथै अघिल्लो २ वर्ष कोभिडको संक्रमणको समयमा सामाजिक सञ्जालमा देखिएको गलत सूचना चिर्नका लागि रेडियोले महत्वपूर्ण भूमिका खेलेको थियो । 


प्रविधिको विकाससंगै सामाजिक सञ्जालप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । स्वभाविक रुपमा रेडियोका स्रोता बाँडिएका छन् । सूचना प्राप्त गर्ने माध्यम रोज्ने अवसर श्रोतालाई बढी छ । सामाजिक सञ्जालमा सूचनाहरुको बाढी आउँछ । यो सत्य हो । सत्यलाई स्वीकार गर्नु पर्ने अर्को सत्य पक्ष हो । सामाजिक सञ्जालको सूचनाहरुलाई प्रशोधन गर्ने क्षमता, कला र ज्ञान प्रयोगकर्तामा भएन भने समाज भड्खालोमा जाने निश्चित छ । अहिले समाजमा सबै भन्दा बढी सुनिने पदावली “भाइरल” हो । भाइरलको पछि लाग्ने समाजमा सबैभन्दा धेरै उतारचढाब आइरहन्छ । अहिले पछिल्लो समय देखिएको समाजको अवस्था पनि यसै तर्फ उन्मुख रहेको छ । नकरात्मक रुपले अरुलाई प्रभावित पार्न बनाइएका ५ सकेण्डको भिडियो हेरेर सतही विचार बनाउने र सामाजिक सञ्जालमा आगो ओकल्ने प्रवृत्तिले लंका जलेझैँ हाम्रो समाज जल्ने निश्चित छ । जहाँ मिडिया साक्षरताको कमि रहन्छ, त्यो समाजमा सामाजिक सञ्जाल आफू अनुकुल अरुलाई प्रभावित पार्न सजिलो माध्यम हो । सामाजिक सञ्जालमा हुने मिस इन्फरर्मेसन (गलत सूचना) हरुलाई चिर्नका लागि पनि अबको समयमा रेडियो प्रभावकारी माध्यमका रुपमा अघि बढ्न आवश्यकता रहेको छ । 


सामाजिक सञ्जालले समाज जोगाउँदैन । सामाजिक सञ्जाल कुनै पनि निकायको नियन्त्रणमा पनि नरहने, प्रत्येक व्यक्ति यसको परिचालक भएका कारण पनि यसको नियन्त्रण सहज छैन । समाजिक सञ्जालले समाजको नेतृत्व गर्न नै सक्दैन । सामाजिक सञ्जालमा सहि गलत दुबै सरोबर विषय उठान भइरहन्छ । सही र गलत सूचना छुट्याउन नसक्दा यसले समाजमा हानी बढाइरहेको छ । तर स्थानीय रेडियोहरुले आफ्नो समाज अनुकुल, समाजको मार्गदर्शन अनुरुप, अभिभावकको सोच अनुरुप, स्थानीय नीति अनुरुप, स्थानीय विकासको खाँका अनुरुप, स्थानीय आवश्यकताका आधारमा समाजलाई अघि बढाउन नेतृत्व लिन सक्ने अवसर रहेको छ । यसका कारण पनि रेडियो प्रभावकारी माध्यमका रुपमा देखिन सक्छ ।  रेडियोले आफ्ना विषयवस्तु जनस्तरसम्म पु¥याउन सामाजिक सञ्जालको प्रयोग गर्न भने चुक्नु हुँदैन । सामाजिक सञ्जालले समाज गिथोलेको वर्तमान समयमा रेडियोलाई जोगाउनु आवश्यक छ । समाज जोगाउने हो भने स्थानीय रेडियोहरुको संरक्षणमा स्थानीय सरकारपनि सचेत हुन जरुरी छ ।