कवि मेनका चापागाईं काप्रीको कवितासंग्रह मनको अदालत लोकार्पण

२०८२ कार्तिक ३ सोमबार ०७:०७:०० मा प्रकाशित

गैंडाकोट । कवि मेनका चापागाईं काप्रीको कवितासंग्रह मनको अदालत लोकार्पण गरिएको छ ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार गैंडाकोटमा आयोजित ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गर्नुभएको हो ।
कृतिमाथि प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले परिचर्चा गर्नुभएको थियो । समसामयिक विषयवस्तुमा लेखिएका ६९ वटा कविता यो संग्रहमा छन् । स्कुले जीवनदेखि नै कविता सिर्जना गर्नुभएकी चापागाईंले कोरोनाकालमा कविता लेखनमा सक्रियतापूर्वक लागेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर भूमिराज चापागाईंले कृतिकारको परिचय गराउँदै कवि चापागाईं कविता पारखी भएको बताउनुभयो । वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश प्रभातले शुभकामना मन्तव्य राख्दै कवि चापागाईंको कविता लेखनको धार बलियो देखिएको बताउनुभयो ।
कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले मनको अदालत कवितासंग्रहबाट एकएकवटा कविता वाचन गर्नुभएको थियो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तकको मूल्य ३५१ /– छ । चापागाईंको यो पहिलो कृति हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।